काठमाडौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बैंक तथा वित्तिय संस्थाले व्यवसायीले ल्याएको प्रस्तावका आधारमा मात्र लगानी गरेकोले राम्रो परिणा आउन नसकेको बताएका छन् । उनले लगानी गर्दा कुन क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफल आउछ भने अध्ययन र अनुसन्धान गरेर लगानी गर्नुपर्ने बताए ।
राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाले आफैँ अध्ययन गरेर कुन क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुन्छ, स्वदेशमै रोजगारी तथा उत्पादन बढ्छ भन्ने निर्णय गर्नेभन्दा पनि व्यवसायीले ल्याएका प्रस्तावका आधारमा मात्र लगानी गर्ने गरेको गुनासो गरे ।
उनले भने, ‘बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर रहेको छ जसले लगानीको सही क्षेत्र पहिचान हुन सकेन ।’
अर्थमन्त्री खनालका अनुसार वित्तीय सेवा प्रदायक संस्थाले अध्ययन–अनुसन्धान नगर्दा देशमा तरलता थुप्रिने, बेरोजगारी बढ्ने र उपभोगमुखी अर्थतन्त्र विस्तार भएको हो ।
उनले रेमिट्यान्सको ठूलो हिस्सा उत्पादनशील क्षेत्रमा परिचालन नभएको भन्दै कुन क्षेत्रमा नयाँ लगानीका अवसर सिर्जना गर्न सकिन्छ, अर्थतन्त्रको आकार विस्तार गर्न सकिन्छ, रोजगारी सिर्जना गर्न सकिन्छ र उत्पादन बढाउन सकिन्छ भन्ने विषयमा बैंक तथा वित्तीय संस्थाहरूले गम्भीर अध्ययन–अनुसन्धान गर्ने परम्परा विकास गर्नुपर्ने बताए । उनले सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकलाई यस्तो अध्ययन तथा अनुसन्धानको नेतृत्व गर्न सुझाव दिए ।
सरकारी स्वामित्वको बैंक भएका कारण विप्रेषण रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गराउने जिम्मेवारी राष्ट्रिय वाणिज्य बैंकको भएको उनको भनाई छ ।
उनले वित्तिय संस्थाहरुले अनसन्धान गरेर प्रतिफल राम्रो आउने ठाउँमा लगानी गर्न सकेमा देश आर्थिक समृद्धिको बाटोमा अग्रसर हुने बताए ।
उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नसके तरलताको प्रभावकारी उपयोग हुने, आन्तरिक उत्पादन बढ्ने र आयात घट्ने बताउँदै उहाँले बैंक तथा वित्तीय संस्थाले उत्पादनमुखी लगानीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । बैंक तथा वित्तीय क्षेत्रमा समष्टिगत रूपमा केही समस्या देखिए पनि समग्र वित्तीय प्रणाली कमजोर नरहेको उनले स्पष्ट गरे ।
प्रतिक्रिया