काठमाडौ । चालु आर्थिक बर्षको ६ महिना (पुस मसान्तसम्ममा) विदेशबाट १० खर्ब ६२ अर्ब रुपैयाँ रकम नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तिय विवरण अनुसार यो गत आर्थिक बर्षको पुस महिनासम्मको तुलनामा ३९.१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो ।
डलरको मुल्यमा उच्च बृद्धि तथा नेपालबाट विदेशमा कामगर्न जानेहरुको संख्यामा बृद्धि भएसँगै नेपाल भित्रने रकम (रेमिट्यान्स) मा बढोत्तरी भएको हो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पुस महिनामा मात्र नेपालमा १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक बर्षको सोही महिनामा रेमिट्यान्स १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ नेपाल भित्रिएको थियो ।
त्यस्तै गत पुुस मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ६ हजार ८०७ रहेको र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ९४ हजार ७३३ रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ३० हजार ४३९ र १ लाख ६२ हजार ६२८ रहेको थियो
प्रतिक्रिया