काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकालले उमेदवारी दिने घोषणा गरेका छन् । आगामी चैतमा हुने नेपाल उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्व सहितको साधारणसभामा आफू वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिने ढकालले घोषणा गरेका हुन् । ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताएका छन् ।
हाल महासंघमा बस्तुगत तर्फको उपाध्यक्ष छन् । आफूले प्रतिकूल परिस्थितिमा समेत उल्लेखनीय काम गर्न सफल भएको दाबी गर्दै ढकालले उत्पादनमुखी अर्थतन्त्र र व्यवसायीको मनोबल बढाउनु नै आफ्नो पहिलो प्राथमिकता हुने बताए ।
उनले आफू महासंघको अध्यक्ष निर्वाचित भएमा सम्पुर्ण व्यपारी व्यवसायीहरुको एजेन्डा स्पष्ट रुपमा सरकारसँग राख्ने र आवश्यक परे ढोका ढक्ढक्याउन समेत पछि नपर्ने बताए ।
राजधानीमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले अघिल्लो कार्यकालमा नीतिगत स्थिरता कायम गर्न तथा विभिन्न कानून संशोधन गर्न पहल गरिएको समेत स्पष्ट पारे ।
राजनीतिक अस्थिरताका कारण व्यवसायीहरुमा त्रासको सिर्जना भएको भन्दै उनले कर सुधारका क्षेत्रमा भने महत्वपूर्ण उपलब्धि हासिल भएको दावी गरे ।
उनले आफू अध्यक्ष भएमा सरकारी तहमा रोकिएर रहेका विभिन्न कानुनहरु पारित गराउन पहल गर्ने बताउदै निजी क्षेत्रलाई देशको अर्थतन्त्र पुन सक्रिय बनाउनका लागि उत्साहित बनाउन लाग्ने बताए ।
देशबाट युवाहरूको विदेशिने क्रम रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले उत्पादनमुखी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने बताए। व्यवसायीका हक–हित संरक्षण, नीतिगत सुधार तथा समस्या सहजीकरण आफ्नो प्राथमिकता रहने उनको भनाइ थियो ।वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकालले निजी क्षेत्र विभाजित नभई एकजुट भएर टिम बनाउनका लागि पनि आफ्नो टिम तयार रहेको स्पष्ट पारे ।
महासंघको आसन्न निर्वाचनको लागि ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी घोषणा गरिन् । हाल उनी एसोसिएट उपाध्यक्ष नै छिन् । त्यस्तै, ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया, कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।
प्रतिक्रिया