काठमाडौ । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा आगामी असार मसान्तसम्म पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ । मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत चालुपुँजी कर्जा लचिलो हुने बताइएको थियो । सोही व्यवस्थालाई निर्देशन जारी गर्दै केन्द्रिय बैंकले लागु गरेका हो । यो व्यवस्था एक पटकको लागि मात्र दिइएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा मात्रै कर्जा पुनर्तालिकीकरणको सुविधा दिनेछन्।
राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘यसरी गरिएको कर्जा पुनर्तालिकीकरणलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनर्तालिकीकरण भएको मानिने छैन’ ।
बैंक तथा वित्तीय संस्थाले चालू पूँजी कर्जाको आवश्यकता विश्लेषण गर्दा २ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा ४ करोडसम्म) चालू पूँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा समेत आवश्यकता पहिचान भएमा ‘स्थायी चालू पूँजी आवश्यकता’का लागि आवधिक प्रकृतिको चालू पूँजी कर्जा प्रदान गर्न सक्ने निर्देशनमा उल्लेख छ ।
चालू पूँजी कर्जाका विभिन्न खातामध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्नेगरी व्यवस्था गरिएको छ । यसअघि १० प्रतिशतको सीमा थियो ।
प्रतिक्रिया