काठमाडौ । अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी (विद्याबारिधि) गरेका डा.स्वर्णिम वाग्ले यतिवेला सरकारको दोस्रो बरियतामा अर्थमन्त्री नियुक्ति भएका छन् । हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका डा.वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुन् ।
डा.वाग्लेको सवैभन्दा ठूलो चुनौति भनेको लिक्विडिटिको ट्रयापमा फसेको नेपालको अर्थातन्त्रलाई उकालो लगाउने र नीजी क्षेत्रको विश्वासलाई हातमा लिएर कर्जा प्रबाह बढाइ दिगो आर्थिक विकास गराउनेतर्फ नीतिगत पहल गर्ने नै हो ।
विभिन्न देशलाई आर्थिक संकटबाट उठाउनका लागि नीतिगत तहमा काम गरेका डा.वाग्ले गोरखाको बुङ्कोटमा जन्मिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति रहेका वाग्ले बूढानीलकण्ठ स्कुलबाट एसएलसी दिएका थिए ।
डा.वाग्लेले विश्व बैंकमा वरिष्ठ अर्थशास्त्री र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको मुख्यालयमा एसिया र प्रशान्त क्षेत्रका लागि प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका डा.वाग्लेले नेपाली कांग्रेसमा बसेर गगन थापालाई सहयोग गर्दै आइरहेका थिए । तर नेपाली कांग्रेसले उनको बौद्धिकताको मुल्यांकन नगरेपछि विसं २०७९ चैतमा उक्त पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उनी तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत हुन् ।
विशेषगरी तथ्याङ्क र तर्कमा आधारित नीतिगत बहस गर्ने बौद्धिक नेताका रूपमा स्थापित डा वाग्लेले संसद्मा आर्थिक सुधार, सुशासन र युवा स्वरोजगारका विषयलाई प्रमुखताका साथ उठाउँदै आएका छन् ।
उनीबाट अर्थतन्त्र र विकास नीतिमा उनीको विशिष्ठ अनुभवले समृद्ध नेपाल निर्माणको सपना पूरा हुने अपेक्षा जनताले गरेका छन् । उनले आफ्नो अनुभवलाई कसरी प्रभावकारी ढंकगले अगाडी बढाउछन् त्यो भने हेर्न बाँकी नै छ ।
प्रतिक्रिया