काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सहकारी संस्थाहरुको सेवा तल्लो वर्गका सर्वसाधारणसम्म पुग्नुपर्ने बताएका छन् । बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै उनले तल्लो वर्गमा वित्तीय पहुँच पुर्याउन सहकारीहरुको परिकल्पना गरिएको र त्यसै अनुरुप काम गर्नुपर्ने बताए ।
सहकारी भनेको सबैको पैसा जम्मा गरेर काठमाडौंमा जग्गा किन्ने अभियान नभएको भन्दै गभर्नर पौडेलले गाउँको पैसा ल्याएर सहरमा लगानी नगर्न समेत आग्रह गरे । म क्लियरली तपाईहरुलाई भन्छु, सहकारी भनेको सबैको पैसा जम्मा गरेर काठमाडौंमा जग्गा किन्ने होइन, बैंक वित्तीय संस्थाको डिपोजिट त्यसमा मिनिमम सबैको अधिकार हुनुपर्छ, पब्लिक सम्पती हावा पानी भन्या जस्तै हो’ उनले भने, ‘सबैलाई गरि खाने एउटा बाटो होस्, सबैलाई ऋणको पहुँच पुगोस, धेरै चर्को ब्याजमा ऋण लिन नपरोस्, त्यही दायित्वमा सहकारी पनि अगाडी बढोस भन्न मेरो चाहाना छ ।’
सहकारी फेरी अर्को सामन्तवादको रुपमा नहोस्, अर्को कन्सन्ट्रेसन अफ वेल्थको रुपमा होस् । तपाईहरुको दायित्व भनेको जति तल सक्नुहुन्छ जसको कोहि छैन त्यसको सहकारी छ भन्ने स्थिति बनाउनु पर्छ । वित्तीय क्षेत्रमा जम्मा भएको निक्षेप सार्वजनिक सम्पति हो रहेको र यसमा सबैको अधिकार हुनुपर्छ भन्दै गभर्नर पौडेलले भने, ‘जसरी हावा, पानी जमिनको आधारभुत प्रयोग सबैले गर्न पाउँछन्, ऋणमा पनि अधिकार हुनुपर्छ । राष्ट्र बैंकमा आएपछि यो विषय मैले जोडतोडले उठाउँदै आएको छुँ ।’
प्रतिक्रिया