काठमाडौ । इस्टन साहारा कम्पनीली लिमिटेडले प्राथमिक सेयर(आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले २७ करोड ५० लाख रुपैयाँ बराबरको २७ लाख ५० हजार कित्ता सेयर आइपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) मा आवेदन दिएको छ ।
कम्पनीको इस्यु म्यानेजर ग्लोवल आइएमई क्यापिटल रहेको छ भने गत चैत १६ गते मात्र कम्पनीले अनुपालन रिपोर्ट सहित आइपीओको लागि सेवोनमा आवेदन दिएको हो ।
बैंकिङ, सहकारी, लघुवित्त तथा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरु, ख्याती प्राप्त व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरुको समुहद्वारा स्थापना गरिएको सो कम्पनीले आइटी, कृषि, उर्जा, जलवायु, सेयर बजार लगायतका विभिन्न क्षेत्रमा लगानी गर्ने उदेश्य राखेको छ ।
कम्पनीले केयर नेपालबाट ‘डवल बि’को रेटिङ पाएको छ । जसले कम्पनीको पोर्टफोलियो अनुसार बजार र मुल्यको अस्थिरता र तरलता जोखिमको समस्यालाई सम्बोधन गर्न सक्ने क्षमता रहेको भन्ने देखाउछ ।
यो कम्पनी वि.सं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भएको हो । अहिलेसम्म कम्पनीले व्याज र लाभांसको आम्दानी मात्र प्राप्त गरेको छ । कम्पनीको पुँजी असोज मसान्तसम्ममा एक अर्ब १ करोड ८ लाख पुगेको छ । ७ करोड ४ लाख रुपैयाँ नगद मौज्दात रहेको छ ।
कम्पनीको संचालन खर्च व्याज आम्दानी र लाभांसबाट नै धानिएको छ । त्यस्तै कम्पनीले दोस्रो बजारमा कारोबारको लागि सुचिकृत नभएको कम्पनीहरुमा पनि लगानी गरेको छ । जसले जोखिम भने देखाउछ ।
त्यस्तै कम्पनीमा नियामकीय जोखिमहरु (सेवोन, नेपाल राष्ट्र बैंकले समय समयमा जारी गर्ने निर्देशनहरु) देखिएको छ । पूँजीगत लाभ कर दरहरू, व्यापार आयोगहरू, ब्याज दरहरू, र अन्य नियामक समायोजनहरूमा भिन्नताहरूको भने जोखिम छ । जसले बजार भावना, तरलता र व्यापक लगानी वातावरणलाई असर गर्न सक्छ र अन्ततः कम्पनीको वित्तीय अवस्थालाई नै असर गर्न सक्छ ।
कम्पनीले छरिएर रहेको स–सानो पूँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा ग्रिन फाइनान्सिङलाई प्रमोट गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनिकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको छ ।
हाल कम्पनीले जलविद्युत, कृषि पर्यटन, अटोमोवाइल्स, सौर्य उर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ । कम्पनीले स्वः पूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको ग्रिन फाइनान्सिङमा टेवा पुर्याई आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य लिएको जनाएको छ ।
हाल कम्पनीले बुढीगण्डकी हाइड्रो इलेक्टिक प्रोजेक्ट र झापा इनर्जीमा यसको लगानी रहेको छ ।
प्रतिक्रिया