काठमाडौं । भ्रष्टाचार, अनियमितता तथा सम्पति शुद्धिकरणलगायतका आर्थिक अपचलनका अनुसन्धानमा सरकार आक्रामक बन्दै गएपछि अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको बोली पनि फेरिएको छ ।
सरकार गठन लगत्तै आर्थिक अपचलनका मुद्दाहरुमा व्यवसायीलाई नगद जरिवाना मात्र गर्ने वताउँदै निजी क्षेत्रको विश्वास जित्ने प्रयास गरेको उनै अर्थमन्त्री वाग्ले अहिले भने आपराधिक गतिविधि गर्नेलाई छोड्न नसकिने बताउन थालेका छन् ।
अर्थमन्त्री वाग्लेले चैत १६ गते नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधीहरुसँगको भेटघाटमा सरकार निजी क्षेत्रमैत्री भएकाले ढुक्क भएर लगानी विस्तार गर्न र रोजगारीका अवसर सृजना गर्न आग्रह गरेका हुन् ।
सरकारले अघि बढाएको अनुसन्धानप्रति त्रसित व्यवसायीलाई विश्वासमा लिन उनले भने, ‘निजी क्षेत्रले अब दुःख पाउँदैन, हामी तपाईंहरूको सहयात्री हौं । अब घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, बिनाकारण निजी क्षेत्रका मानिस थुनिनु पर्दैन ।’ निजी क्षेत्रले आर्थिक बेइमानी गरेको अवस्थामा सरकारले आर्थिक जरीवाना गर्ने र तर थुन्ने काम नगर्ने उनले बताएका थिए ।
तर, यतिवेला उनै अर्थमन्त्री वाग्लेको बोली फेरिएको छ । बैशाख १७ गते उनले उद्योग व्यवसायको आवरणमा आपराधिक गतिविधि गर्ने जो कोहीलाई पनि नछाड्ने भन्दै अपराधिक व्यक्तिलाई वचाउन नआउन समेत चेतावनी दिए । ‘गल्ती नभएका र विगतमा कुनै अनुसन्धान नभएका उद्योगी व्यवसायी डराउनुपर्दैन’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको पूर्ववजेट छलफलमा उनले भने, ‘जसले आपराधिक काम गर्ने, उद्योगी व्यवसायीको नाममा आपराधिक काम गर्नेहरूलाई केही गर्न सकिँदैन । साथीहरूलाई बचाउने नाममा अपराधीहरूलाई जोगाउन नआउनुहोला ।’
सम्पति शुद्धिकरणलगायतका कसुरमा सरकारले व्यवसायी शंकर अग्रवालबाट छानविन अघि बढाएको थियो । त्यसपछि दिपक भट्ट, सुलभ अग्रवाल समेत पक्राउ परे ।
सोही अनुसन्धानमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका शेखर गोल्छा समेत पक्राउ परेपछि व्यवसायीहरु त्रसित भएका छन् ।
स्रोतका अनुसार अर्थमन्त्री वाग्ले व्यवसायीहरुलाई पहिले नै पक्राउ नगरी अदालतबाट कसुर प्रमाणीत भएअनुसार कारवाही अघि बढाउनुपर्ने पक्षमा थिए । तर, प्रधानमन्त्री वालेन्द्र शाह भने यस्ता मुद्दाहरुको अनुसन्धान र कारवाहीमा निर्मम रुपमा अघि बढेपछि अर्थमन्त्री अप्ठेरोमा परेका हुन् ।
प्रतिक्रिया