वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मिथिला हस्पिटालिटीको जनकपुरमा नयाँ प्रोजेक्ट सुरु

२ अर्ब लगानीमा ५ तारे होटेल बनाउने

२ अर्ब लगानीमा ५ तारे होटेल बनाउने
अर्थटुडे
२०८३ बैशाख २१, सोमबार

काठमाडौँ । चितवनमा रोयल टुलिप रिसोर्ट सञ्चालनमा ल्याएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष रामेश्वर शाहले जनकपुरधाममा पाँचतारे होटल निर्माण गर्ने भएका छन् । शाहले मिथिला हस्पिटालिटी अन्तर्गत जनकपुरमा पहिलो पाँच तारे होटल निर्माण गर्न सोमबार भुमि पुजन समेत गरेका छन् । जनकपुरमा होटल व्यवसायहरु फस्टाउँदो रुपमा रहेपनि अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरको आवास सुविधाको भने अभाव रहँदै आएको छ । यसैलाई लक्षित गर्दै शाहले २ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गर्न लागेका हुन् ।

यस परियोजनामा जम्मा २ अर्ब रुपैयाँ लगानी हुने र निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गरी २०८६ सालको वैशाखमा होटललाई औपचारिक रूपमा सञ्चालनमा ल्याइने लक्ष्य राखिएको संचालक रामेश्वर शाहले जानकारी दिए । करिब २ लाख वर्गफिट (साढे २ बिघा भन्दा बढी) जग्गामा निर्माण हुने यस होटलको कुल निर्मित क्षेत्रफल १ लाख २० हजार वर्गफिट रहनेछ । होटलमा ८ विलासी सुइटसहित जम्मा १२४ कोठा निर्माण हुनेछन् र ३७२ बेडको व्यवस्था गरिनेछ।
जनकपुरमा बन्न लागेको होटलमा शाहसहित पूर्व बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना, व्यवसायी काजी लामा, सुदीप कुमार चौधरी, उदयकान्त झा समेतको लगानी रहनेछ।

होटल सञ्चालनमा आएपश्चात् प्रत्यक्ष रूपमा १ सय ५० जनाले रोजगारी पाउनेछन् र स्थानीय सेवा तथा व्यवसायमा अप्रत्यक्ष रोजगारी र आर्थिक गतिविधि पनि उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ।

सुविधाको दृष्टिले यो होटल केवल एक आवासस्थलमा सीमित रहने छैन। यसलाई एक सम्पूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने योजना रहेको छ। होटलमा उच्चस्तरीय रेस्टुरेन्ट र लाइभ किचनदेखि क्याफे लाउन्ज, लाइभ म्युजिकसहितको सांगीतिक बार र रूफटप पूल बारसम्मका खाद्य तथा पेय सेवाहरू उपलब्ध हुनेछन्।

क्यासिनो समेत राख्ने योजना रहेको यस होटेलमा व्यावसायिक र सामाजिक कार्यक्रमका लागि सभा तथा बैंक्वेट हल र व्यापार केन्द्र राखिनेछ भने स्वास्थ्य र मनोरञ्जनका लागि बहुकार्यात्मक पौंडी पोखरी, सुविधासम्पन्न स्पा र हेल्थ क्लब तथा टेनिस कोर्टको व्यवस्था हुनेछ। यसका साथै एम्फीथिएटर र कार्यक्रम हल, ईभी चार्जिङ स्टेशन र बालबालिकाको खेल्ने छुट्टै स्थान जस्ता आधुनिक सुविधाहरूले यस होटललाई एक विशिष्ट पहिचान दिनेछ।

होटल सञ्चालनमा आएपश्चात् प्रत्यक्ष रूपमा १ सय ५० जनाले रोजगारी पाउनेछन् र स्थानीय सेवा तथा व्यवसायमा अप्रत्यक्ष रोजगारी र आर्थिक गतिविधि पनि उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ।

होटलले मुख्यतः सामान्य आगन्तुक, जनकपुरको जानकी मन्दिर र रामायण सर्किटमा आउने धार्मिक पर्यटक, विवाह महोत्सव आयोजक तथा सहभागी र व्यापारिक सभासम्मेलनका प्रतिनिधिलाई लक्षित गरेको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?