वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ नेतृत्वको बाटो खुला गर्दै चुनावी मैदानबाट बाहिरिए सहकारी बैंक अध्यक्ष गिरी

नयाँ नेतृत्वको बाटो खुला गर्दै चुनावी मैदानबाट बाहिरिए सहकारी बैंक अध्यक्ष गिरी
अर्थटुडे
२०८३ बैशाख २४, बिहीबार

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको आगामी निर्वाचन नजिकिँदै जाँदा बैंकका अध्यक्ष महेन्द्र गिरीले आफू पुनः प्रतिस्पर्धामा नउत्रिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै उनले नयाँ नेतृत्वलाई अवसर दिन आफू चुनावी मैदानबाट बाहिरिने निर्णयमा पुगेको बताएका हुन् ।

राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति चयनका लागि आगामी जेठ ९ गते निर्वाचन हुँदैछ । नेपाल राष्ट्र बैंकको नयाँ निर्देशनअनुसार अब बैंकमा सातै प्रदेशबाट एक–एक जना प्रतिनिधित्व हुने गरी सात सञ्चालक निर्वाचित हुने व्यवस्था गरिएको छ । निर्वाचित सञ्चालकमध्येबाट अध्यक्ष चयन गरिनेछ भने स्वतन्त्र र विज्ञ सञ्चालक सञ्चालक समितिबाट मनोनयन गरिने प्रावधान छ ।

बैंकको नेतृत्व परिवर्तनको यो चरण यस्तो समयमा आउँदैछ, जब बैंक पछिल्ला केही वर्षदेखि वित्तीय दबाब र संस्थागत पुनर्संरचनाको प्रक्रियाबाट गुज्रिरहेको छ । २०८१ मंसिरमा नेपाल राष्ट्र बैंकले तत्कालीन अध्यक्ष केबी उप्रेतीसहित पाँच जना सञ्चालकलाई पदमुक्त गर्न निर्देशन दिएपछि बैंकको नेतृत्व गिरीले सम्हालेका थिए ।

अध्यक्षको जिम्मेवारी सम्हालेपछि गिरीले बैंकको वित्तीय अवस्था सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् । बैंकको अपरिष्कृत वित्तीय विवरणले पनि केही सूचकमा सुधारको संकेत गरेको छ । २०८१ पुससम्म २ अर्ब ८० करोड रुपैयाँ रहेको सेयर पुँजी २०८२ पुसमा बढेर २ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, एक वर्षअघि १ दशमलव १२ प्रतिशतमा झरेको पुँजीकोष अनुपात पनि बढेर २ दशमलव २२ प्रतिशत पुगेको छ । बैंकको नाफा–नोक्सानी अवस्थामासमेत सुधार देखिएको छ । २०८१ पुसमा ४५ करोड ९७ लाख रुपैयाँ खुद घाटामा रहेको बैंकले २०८२ पुससम्म आइपुग्दा ५५ लाख रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ ।

सञ्चित नोक्सानीमा पनि केही कमी आएको देखिन्छ । २०८१ पुसमा ४ अर्ब २२ करोड रुपैयाँ रहेको सञ्चित नोक्सानी २०८२ पुसमा घटेर ४ अर्ब ५ करोड रुपैयाँमा झरेको छ ।

यद्यपि, बैंक अझै उच्च सञ्चित नोक्सानी, बढ्दाे खराब कर्जा र कमजोर पुँजी आधारलगायतका चुनौतीबाट पूर्ण रूपमा बाहिरिन सकेको छैन । आगामी निर्वाचनपछि बन्ने नयाँ नेतृत्वले वित्तीय सुधारको गति कायम राख्दै नियामकीय विश्वास पुनः स्थापित गर्नुपर्ने चुनौती सामना गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?