काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो । सभामुख डोलप्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपतिले यो निर्णय लिएका हुन्।
संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ऐनको दफा ६ को ङमा कार्यक्षमताको अभाव, खराव आचारण वा आफ्नो पदीय कर्तव्यको पालना इमान्दारीपुर्वक नगरेको भनी सम्बन्धित सभाको सभामुख वा अध्यक्षको सिफारिसमा राष्टपतिबाट सचिवलाई हटाउन सकिने प्रावधान रहेको छ । आफ्नो काम गर्ने रफ्तार नमिलेपछि सभामुख अर्यालले उनलाई हटाउनका लागि राष्ट्रपतिकोमा सिफारिस गरेका थिए ।
सभासदलाई बोल्ने समय छुट्याउदा पक्षपात गरेको आरोप अर्यालको रहेको छ । तर आफुले चाहेको मानिस ल्याउनका लागि अर्यालले उनलाई दुई पटक स्पष्टीकरण सोधेका थिए ।
स्पष्टीकरण चित्तबुझेदो नभएपछि प्रतिनिधिसभाको सचिव पदबाट अर्यालले हटाउन राष्ट्रपतिलाई सिफारिस गरेका हुन । प्रतिनिधिसभाको सचिव पद संवैधानिक हो । सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
सचिव राईलाई तत्कालीन सभामुख देवराज घिमिरेले सचिव पदमा नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस गरेका थिए । त्यसअघि उनी तत्कालीन भौतिक पूर्वाधार तथा यतायातमन्त्री देवेन्द्र दाहालको सचिवालयमा कार्यरत थिए ।
प्रतिक्रिया