वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेबोन अध्यक्षका लागि चार जना सर्टलिष्ट

सेबोन अध्यक्षका लागि चार जना सर्टलिष्ट
अर्थटुडे
२०८३ जेष्ठ ५, मंगलवार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि चार जना अन्तिम छनोटमा परेका छन् । अर्थ मन्त्रालय अन्तर्गत गठित अध्यक्ष छनोट तथा सिफारिस समितिले ४७ जना आवेदकमध्येबाट चार जनाको ‘सर्टलिस्ट’ सार्वजनिक गरेको हो । सर्टलिस्टमा सेवोनकै पुर्व कार्यकारी निर्देशकहरू डा. नवराज अधिकारी र  विनयदेव आचार्य नेपाल राष्ट्र बैंकका  पुर्व कार्यकारी निर्देशकहरू मुकुन्दकुमार क्षेत्री र  डा. गोपालप्रसाद भट्ट परेका छन् ।

समितिले सार्वजनिक गरेको सूचनाअनुसार चारै जनासँग जेठ ८ गते शुक्रबार अर्थ मन्त्रालय, सिंहदरबारमा छलफल तथा अन्तर्वार्ता गरिनेछ । डा. अधिकारीसँग दिउँसो १ बजे, आचार्यसँग १.३० बजे, क्षेत्रीसँग २ बजे र भट्टसँग २.३० बजे छलफल तय गरिएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदा पुँजीबजार नियमन र नीतिगत निर्णय प्रभावित हुँदै आएको छ । तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया पटक–पटक विवादमा पर्दै आएको थियो ।

अध्यक्ष नियुक्ति ढिलाइ हुँदा ब्रोकर लाइसेन्स विस्तार, नयाँ स्टक एक्सचेञ्जको अनुमति, वस्तु विनिमय बजार सञ्चालन तथा आइपीओ स्वीकृतिजस्ता विषयमा निर्णय प्रक्रियासमेत प्रभावित भएको थियो । विशेषगरी, पछिल्लो समय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा देखिएको उतारचढाव, लगानीकर्ताको बढ्दो असन्तुष्टि र बजार सुधारसम्बन्धी बहसका बीच नयाँ अध्यक्ष चयनलाई चासोका रूपमा हेरिएको छ ।

बजार सुधार, नियामकीय पारदर्शिता र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्न सक्ने नेतृत्व खोज्ने दबाब सरकारमाथि छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७(३) बमोजिम गठित सिफारिस समितिले इच्छुक व्यक्तिबाट व्यक्तिगत विवरण माग गरेको थियो । तोकिएको समयभित्र ४७ जनाले आवेदन दिएका थिए । तीमध्येबाट अनुभव, योग्यता र कार्ययोजनाका आधारमा चार जनालाई अन्तिम चरणका लागि छनोट गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?