काठमाडौं । राष्ट्रिय सहकारी बैंकको आसन्न निर्वाचनमा राजनीतिक दलबीच भएको भागबण्डा र उम्मेदवार जिताउन पार्टीले गरेको ह्वीपका कारण विवाद चर्किएको छ । बैंकको बागमती प्रदेश सञ्चालक पदका उम्मेदवार परितोष पौडेलको उम्मेदवारी खारेजीको माग गर्दै नेपाल राष्ट्र बैंकमा उजुरी पर्नुका साथै अर्को नियामक निकाय सहकारी विभागले समेत दलीय भागवण्डा नगर्न निर्देशन दिएपछि सहकारी क्षेत्रभित्र राजनीतिक हस्तक्षेपको बहस थप तातेको हो ।
सहकारीकर्मी तथा बैंकका पूर्व उम्मेदवार बद्रीप्रसाद संजेलले जेठ ५ गते नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा राजनीतिक दलको लेटरप्याड प्रयोग गरेर पार्टी अनुशासन आयोगका सदस्यलाई जिताउन सर्कुलर गरिएको भन्दै उम्मेदवारी रद्द गर्न माग गरिएको छ ।

उजुरीमा राष्ट्रिय सहकारी बैंकजस्तो वित्तीय संस्थाको निर्वाचनलाई राजनीतिक भागबण्डा र शक्ति सन्तुलनको माध्यम बनाइएको आरोप लगाइएको छ । “पार्टी केन्द्रको लेटरप्याड प्रयोग गरी पार्टी अनुशासन आयोगका सदस्यलाई जिताउन गरिएको सर्कुलरले सहकारीको मर्म, मूल्य र सिद्धान्तमाथि खुला चुनौती दिएको छ,” उजुरीमा उल्लेख छ । यसलाई सामान्य राजनीतिक अभ्यासका रूपमा लिन नहुने र वित्तीय सुशासन तथा संस्थागत स्वतन्त्रतासँग जोडिएको गम्भीर विषय भएको उल्लेख गर्दै तत्काल छानबिन र कानुनी हस्तक्षेपको माग गरिएको छ ।
यता, सहकारी विभागले पनि राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा देखिएको दलगत चलखेलप्रति चासो देखाएको छ । विभागले बुधबार सूचना जारी गर्दै सहकारी संघसंस्थाको निर्वाचनमा राजनीतिक दलको प्रत्यक्ष प्रभाव बढेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राजनीतिक दलको समर्थनमा प्यानल बनाएर उम्मेदवारी घोषणा गरिएको विषय सार्वजनिक भएको भन्दै त्यस्ता गतिविधि सहकारीको मूल्य, मान्यता र सिद्धान्तविपरीत रहेको स्पष्ट पारेको छ । सूचनामा सहकारी ऐन २०७४ को प्रस्तावना र कार्यान्वयनको मर्मअनुसार सहकारी संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने उल्लेख गर्दै सहकारीकर्मीलाई त्यस्ता गतिविधि नगर्न निर्देशन दिइएको छ ।

सहकारी बैंकको निर्वाचन आगामी जेठ ९ गते हुदैछ । निर्वाचनबाट ७ जना सञ्चालक छनोट गर्नुपर्नेमा तीन ठुला राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले भागवण्डा गरी उम्मेदवार तय गरेपछि विवाद सुरु भएको हो ।
एमालेको भागमा परेको वागमतीको सञ्चालकका लागि पौड्याल र अर्का उम्मेदवार रामशरण शर्मा घिमिरेको उम्मेदवारी छ । घिमिरे एमालेको सहकारी विभागका पूर्व सदस्य हुन् भने पौड्याल हालै सम्पन्न अधिवेशनबाट पार्टीको केन्द्रीय अनुशासन आयोगमा निर्वाचित भएका हुन् । तर, पार्टीले भने आधिकारीक उम्मेदवार भन्दै पौड्याललाई मतदान गर्न ह्वीप नै जारी गरेका छन् ।
एमाले पार्टी कार्यालयले जारी गरेको ह्वीप यतिबेला सामाजिक सञ्चालहरुमा भाइरल हुनुका साथै व्यापक विरोध भइरहेको छ ।
प्रतिक्रिया