काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि जेठ २८ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो। यसमध्ये ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकिएको छ भने ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। साथै, १७ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित राखिएको छ।
यी सबै वर्गका लागि छुट्याइएको हिस्सा कटाएपछि बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ। यो शेयरको कुल मूल्य ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अवधि असार २ गतेसम्म तोकिएको छ।
उक्त अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ११ गतेसम्म लम्बिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत तथा ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी सी–आस्बा माध्यमबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने बताइएको छ।
प्रतिक्रिया