वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्णालीको बजेट : कृषि, पूर्वाधार र रोजगारीमा केन्द्रित, ३५ अर्ब ३९ करोडको महत्वाकांक्षी योजना

कर्णालीको बजेट : कृषि, पूर्वाधार र रोजगारीमा केन्द्रित, ३५ अर्ब ३९ करोडको महत्वाकांक्षी योजना
अर्थटुडे
२०८३ असार १, सोमबार

सुर्खेत ।  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाह ले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेट चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बढी रहेको छ।

सरकारले यस वर्षको बजेटमार्फत कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको छ। कुल बजेटमध्ये ५८.६१ प्रतिशत पुँजीगत खर्च र २४.३१ प्रतिशत चालु खर्चका लागि विनियोजन गरिएको छ।

कृषि र उत्पादनमुखी अर्थतन्त्रमा जोड

कर्णालीलाई कृषि उत्पादनको केन्द्र बनाउने लक्ष्यसहित सरकारले व्यावसायिक खेती, साना सिँचाइ आयोजना तथा सहुलियतपूर्ण कृषि कर्जाका कार्यक्रम अघि सारेको छ। स्याउ, ओखर तथा भेडा–च्याङ्ग्रा पालनलाई क्लस्टरका रूपमा विकास गरिनेछ। साथै, स्थानीय उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘मूल्यवान कर्णाली’ ब्रान्ड स्थापना गर्ने नीति लिइएको छ।

पर्यटन दशकको घोषणा

प्रदेश सरकारले ‘कर्णाली पर्यटन दशक’ को सुरुवात गर्दै पर्यटन पूर्वाधार विस्तारलाई विशेष महत्व दिएको छ। रारा ताल, काँक्रेविहार र कुपिण्डे दह लगायतका प्रमुख पर्यटकीय गन्तव्यको विकासका लागि २१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

सडक र पूर्वाधारलाई उच्च प्राथमिकता

प्रदेशको आर्थिक गतिविधि विस्तार गर्न प्रादेशिक लोकमार्ग, रणनीतिक सडक तथा अन्य महत्वपूर्ण पूर्वाधार आयोजनालाई बजेटले उच्च प्राथमिकतामा राखेको छ। सरकारले साना र टुक्रे योजनाभन्दा दीर्घकालीन प्रभाव पार्ने ठूला आयोजनामा लगानी केन्द्रित गर्ने जनाएको छ।

स्वास्थ्य र शिक्षामा सुधार

स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाको मासिक भत्ता शतप्रतिशत वृद्धि गरी २४ हजार रुपैयाँ पुर्‍याइएको छ। जटिल रोगका बिरामीलाई उपचार सहायता विस्तार गरिने भएको छ। शिक्षातर्फ सामुदायिक विद्यालयमा डिजिटल पूर्वाधार विस्तार तथा विज्ञान–गणित विषयका शिक्षक अभाव समाधान गर्न विशेष अनुदानको व्यवस्था गरिएको छ।

कर्मचारीलाई राहत

बढ्दो महँगीलाई मध्यनजर गर्दै प्रदेश सरकारले राष्ट्रसेवक कर्मचारीको सुरु तलब स्केलमा १० प्रतिशत वृद्धि गरेको छ। साथै, सोही बराबरको मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

समृद्ध कर्णालीको लक्ष्य

प्रदेश सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन र जनजीवनमा प्रत्यक्ष सुधार ल्याउने उद्देश्यसहित बजेट ल्याएको जनाएको छ। बजेटले “समृद्ध कर्णाली, सुखारी कर्णालीबासी” को दीर्घकालीन लक्ष्य हासिल गर्न आधार तयार गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?