वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्मचारी र सञ्चालक टिकाउनै कठिन, अप्ठेरोमा हिमालयन रि

कर्मचारी र सञ्चालक टिकाउनै कठिन, अप्ठेरोमा हिमालयन रि
अर्थटुडे
२०८३ असार १०, बुधबार

काठमाडौं । संस्थापक शेयरधनीमाथि सम्पत्ति शुद्धीकरणका साथै बैंकिङ, बीमा तथा धितोपत्र कसुरमा अनुसन्धान अघि बढेपछि हिमालयन रिइन्स्योरेन्स कम्पनी अप्ठेरोमा परेको छ । सरकारले छानविन अघि बढाएपछि सञ्चालक समिति र उच्च व्यवस्थापनमा देखिएको अस्थिरता अझै रोकिएको छैन । पछिल्लो केही महिनायता कम्पनीका सञ्चालकदेखि प्रमुख व्यवस्थापकीय पदसम्म निरन्तर फेरबदल भइरहँदा संस्थागत स्थायित्वमै प्रश्न उठ्न थालेको छ ।

कम्पनीका संस्थापक समूहका विवादास्पद व्यवसायी दीपक भट्ट, शंकर समूहसँग आबद्ध पदाधिकारी तथा अन्य व्यावसायिक समूहका प्रतिनिधिमाथि अनुसन्धान र मुद्दा प्रक्रिया अघि बढेपछि हिमालयन रिमा सञ्चालकहरूले राजीनामा दिने र नयाँ पदाधिकारी नियुक्त हुने क्रम जारी छ ।

आर्थिक हिनामिनाको आरोप लागेकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल सम्पर्कविहीन भएपछि कम्पनीले असार २ गते नायब सीईओ मुकेशकुमार कपुरलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको थियो । तर, जिम्मेवारी सम्हालेको ६ दिनमै असार ८ गते कपुरले राजीनामा दिए ।
उही दिन बसेको सञ्चालक समिति बैठकले संस्थापक शेयरधनी कालिका फिन्कोर्प प्रालिको तर्फबाट मनोनित सञ्चालक दीपककुमार मिश्रको राजीनामा पनि स्वीकृत ग¥यो । त्यस्तै, टेली डिरेक्ट प्रालिको तर्फबाट मनोनित सञ्चालक पृथ्वीराज थापालाई सम्बन्धित संस्थाले फिर्ता बोलाउँदै अब कम्पनीमा प्रतिनिधि नपठाउने निर्णय गरेको छ ।

सञ्चालक समितिको रिक्तता पूर्ति गर्न कम्पनीले सर्वसाधारण शेयरधनी समूहबाट सागरप्रसाद मुल्मीलाई आगामी वार्षिक साधारणसभासम्मका लागि सञ्चालक नियुक्त गरेको छ ।

सरकार परिवर्तनसँगै दीपक भट्टसँग सम्बन्धित कारोबारमा अनुसन्धान अघि बढेपछि हिमालयन रिको शेयर कारोबार र कम्पनी व्यवस्थापनसँग सम्बन्धित विषयहरू चर्चामा आएका थिए । त्यसयता फागुन २५ गतेदेखि कम्पनीको सञ्चालक समिति निरन्तर परिवर्तन हुँदै आएको छ ।

सरकारको छानबिन प्रक्रिया अघि बढिरहेका बेला सबैभन्दा पहिले फागुन २५ गते तत्कालीन अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएका थिए । गोल्छाको राजीनामापछि कम्पनीमा सञ्चालक परिवर्तनको क्रम सुरु भएको हो ।

चैत २५ गते कम्पनीले सञ्चालक समिति पुनर्गठन गर्दै शेखर गोल्छाको स्थानमा उदयकुमार निरौला, शाहिल अग्रवालको स्थानमा दिपेन्द्रकुमार मिश्र र रोहित गुप्ताको स्थानमा पृथ्वीराज थापालाई नियुक्त गरेको थियो । सोही बैठकले निरौलालाई अध्यक्षको जिम्मेवारी दिएको थियो ।

त्यसपछि वैशाख ४ गते कम्पनीले एकैपटक चार जना सञ्चालकको राजीनामा स्वीकृत ग¥यो । अमित मोर, राजीव मोर, शुभेक्षा खरेल र शुभाषकुमार झुनझुनवालाको राजीनामा स्वीकृत गर्दै कम्पनीले दीपककुमार मिश्र र आशिषचन्द्र न्यौपानेलाई नयाँ सञ्चालक नियुक्त गरेको थियो । न्यौपाने स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त भएका हुन् ।

तर, त्यसपछि पनि सञ्चालक समिति र उच्च व्यवस्थापनमा स्थिरता आउन सकेको छैन । अहिले कम्पनी व्यवस्थापनमा कार्यकारी निर्देशकका रूपमा सन्तोष केसी मात्र सक्रिय रहेको देखिन्छ ।
कम्पनी अप्ठेरोमा पर्दै गएपछि नेपाल बीमा प्राधिकरणले हालै अनुगमन समेत गरेको थियो । कम्पनीलाई समस्याग्रस्त घोषणा गर्न लागिएको चर्चा भएपनि तत्कालका लागि प्राधिकरणले चालू आर्थिक वर्षको असारसम्मका लागि नयाँ व्यवसाय विस्तारमा रोक लगाएको छ ।

निरन्तरको सञ्चालक हेरफेर, उच्च व्यवस्थापनमा देखिएको रिक्तता र नियामकीय दबाबका कारण हिमालयन रि अहिले संस्थागत स्थायित्व कायम गर्ने चुनौतीमा परेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?