काठमाडौँ । नेपाल उद्योग परिसंघले बजार माग तथा लगानीकर्ताको आत्मविश्वास उकास्ने र अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको छ । बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलसँग भेटी परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले तत्कालको न्यून बजार माग उकास्ने गरी आर्थिक गतिविधि बढाउने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने र राष्ट्र बैंकको पनि संरचनागत सुधारतर्फ बढ्ने विषयमा सुझाव दिएका हुन् ।
त्यस्तै परिसंघले निर्देशित कर्जा विस्तारै घटाउनुपर्ने, चालुपुँजी मार्गदर्शनलाई क्षेत्रगत रुपमा लागु गर्नुपर्ने ब्याजदर निर्धारण प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने, धितोयुक्त कर्जाको वर्गीकरण तथा कालोसूचीकरणको समयसीमा विस्तार गर्नुपर्ने, सरकारको इन्टरप्राइज फ्यासिलिटीसँग आबद्ध स्टार्टअपहरूका लागि विशेष कर्जा सुविधा स्थापना गर्नुपर्ने तथा नेपाल राष्ट्र बैंकभित्र अधिकारसम्पन्न मौद्रिक नीति समिति गठन गर्न सुझाव दिएको छ ।
परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधिहरू भने लामो समयदेखि लयविमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाएको छ ।
परिसंघको सुझाव ग्रहण गर्दै गभर्नर पौडेलले आगामी मौद्रिक नीति मुख्यतः ब्याजदर तथा वित्तीय स्थायित्व सुनिश्चित गर्न केन्द्रित हुने बताए । उनले निजी क्षेत्र नै अर्थतन्त्रको प्रमुख चालकका रूपमा रहेको उल्लेख गर्दै लगानी तथा आर्थिक गतिविधिलाई प्रवद्र्धन गर्न नियामक निकाय र उद्योग क्षेत्रबीचको घनिष्ठ समन्वय आगामी दिनमा पनि अपरिहार्य रहने बताए ।
सो अवसरमा परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा, परिसंघ गभर्निङ्ग काउन्सिल सदस्य शशिकान्त अग्रवाल, परिसंघ बैंक तथा वित्तीय समिति सभापति वरुण कुमार तोदीलगायतको सहभागिता थियो ।
प्रतिक्रिया