काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले कर्जा प्रबाहलाई कसरी बढाउने भन्ने मुख्य विषय रहेको बताएका छन् । मौद्रिक नीतिको तर्जुमाका लागि राष्ट्र बैंकले आयोजना गरेको सरोकारवालसँग राय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा उनले अहिले बजारमा करिव ११ खर्बको हाराहारीमा तरलता रहेको, व्याजदर इतिहासकै न्युन विन्दुमा रहेको बेलामा पनि कर्जाको माग नआएको भन्दै माग कसरी बढाउने भन्नेतर्फ नै केन्द्रिय बैंकको ध्यान गएको बताए ।
उनले दिगो बृद्धिका साथ ठिक्क प्रतिफल हुने गरी मौद्रिक नीति बनाउनुपर्ने दववा केन्द्रिय बैंकलाई रहेको बताए । तर उनले ठिक्क प्रतिफल कति हो भनेर स्पष्ट पारेनन् ।
त्यस्तै उनने अर्थतन्त्रलाई चलायमान बनाउन कर्जा प्रवाहको उचित व्यवस्थापन र दीर्घकालीन वृद्धिका लागि मानव पुँजीमा लगानी बढाउनुपर्नेमा पनि जोड दिए ।
त्यस्तै उनले सरकारले ठूलो लगानी गरेका पुर्वाधारहरुबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको दावी गर्दै भने, ‘कोभिडपछि सरकारले विभिन्न स्थानमा ५६ वटा सभाहल बनाएको छ त्यस्तै ३२ वटा विमानस्थलहरु बनाएको छ तर त्यसको प्रतिफल सन्तोषजनक छैन ।’
अहिले सिमेन्ट र स्टिल जस्ता ठूला उद्योगहरुले आफ्नो क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरिरहेको तथ्यांक बताउदै उनले यस्ता नेपालकै उत्पादनहरुलाई कसरी दिगो बनाउने र त्यसकालागि वित्तिय र मौद्रिक पोलिसि कसरी अगाडी बढाउने भन्ने केन्द्रिय बैंकको चिन्ता रहेको बताए । त्यस्तै अब केन्द्रिय बैंकले रियल स्टेट क्षेत्रमा थप कर्जा प्रबाह गर्न प्रोत्साहित नगर्ने बताए ।
उनले भने ‘यदी रियल स्टेट सेक्टरमा लगानी बढाउन थाल्यौ भने बजारमा बबल क्रियट भएर अर्थतन्त्रमा नै समस्या आउछ जुन हामीले विगतमा यस्ता कुराहरुबाट सिकिसकेका छौ ।’
डा.पौडेलले दीर्घकालीन आर्थिक वृद्धिका लागि भौतिक पूर्वाधार मात्र नभई शिक्षा र स्वास्थ्यमा लगानी केन्द्रित गर्नुपर्ने बताउदै दिगो विकासका लागि आविष्कार र दक्ष जनशक्ति नै प्रमुख आधार भएको स्पष्ट पारे ।
त्यस्तै उनले विगत १० बर्षमा बार्षिक ३०० अर्बको हाराहारीमा आन्तरिक ऋण सरकारले उठाउने गरेको तथ्यांक प्रस्तुतत गर्दै विगतमा तरलता अभावको समस्या झेल्न परेको पनि सोही कारणले रहेको दावी गरे ।
उनले मौद्रिक नीति लचिलो बनाउनका लागि सम्पुर्ण क्षेत्रका सल्लाह सुझावहरु समेटेको बताउदै उचित सल्लाह सुझाव दिन आग्रह समेत गरे ।
प्रतिक्रिया