काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) उच्च तहमा थुप्रिए पनि कर्जा विस्तारले गति लिन नसकेपछि नेपाल राष्ट्र बैंकले फेरि बजारबाट २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।
राष्ट्र बैंकले सोमबार एक वर्ष अवधिको २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन (ऋणपत्र) जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरूमा ठूलो परिमाणमा नगद मौज्दात भए पनि कर्जा माग कमजोर रहेकाले अतिरिक्त तरलतालाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न केन्द्रीय बैंकले यो कदम चाल्न लागेको हो।
हाल बैंकिङ प्रणालीमा करिब करिब खर्ब रुपैयाँ लगानीयोग्य पुँजी छ । तर उद्योग–व्यवसायमा अपेक्षित लगानी विस्तार हुन नसक्दा बैंकहरूले उक्त रकम कर्जाका रूपमा परिचालन गर्न सकेका छैनन् । परिणामस्वरूप बैंकहरूमा निष्क्रिय रूपमा बसेको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निरन्तर प्रशोचनका उपकरण प्रयोग गर्दै आएको छ ।
यो चालु आर्थिक वर्ष २०८३/८४ मा राष्ट्र बैंकले जारी गर्न लागेको यो चौथो ऋणपत्र हो । यसअघि असार महिनामै विभिन्न चरणमा १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गरी बजारबाट तरलता तानिसकेको थियो ।
राष्ट्र बैंकका तथ्यांक अनुसार गत आर्थिक वर्षमा पनि केन्द्रीय बैंकले २ खर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गरेर अतिरिक्त तरलता प्रशोचन गरेको थियो । यसले पछिल्ला दुई वर्षदेखि बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन राष्ट्र बैंकका लागि प्रमुख चुनौती बनेको देखाउँछ ।
विशेषज्ञहरूका अनुसार बैंकहरूमा निक्षेप निरन्तर बढिरहे पनि निजी क्षेत्रको कर्जा माग अपेक्षाअनुसार बढ्न नसक्दा लगानीयोग्य रकम अस्वाभाविक रूपमा थुप्रिएको छ । यही कारण केन्द्रीय बैंकले अल्पकालीन रिपो वा निक्षेप संकलन उपकरणभन्दा एक वर्षे ऋणपत्रलाई प्राथमिकता दिँदै दीर्घकालीन अवधिका लागि तरलता व्यवस्थापन गरिरहेको छ ।
अर्थतन्त्रमा कर्जा प्रवाहले गति नलिएसम्म राष्ट्र बैंकका लागि तरलता व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा अन्र्तगत समेत नियमित रुपमा तरलता प्रशोचन गर्दै आइरहेको छ ।
प्रतिक्रिया