काठमाडौ । विदेशबाट नेपालमा आउने रेमिट्यान्स बढेको छ । चालु आर्थिक बर्षको ११ महिनामा विदेशबाट नेपालमा आउने रेमिट्यान्स ३८.२ प्रतिशतले बृद्धि भएर कुल २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै सबैभन्दा बढी हो । यसअघि कहिल्यै पनि यत्ति धेरै रेमिट्यान्स नेपाल भित्रिएको थिएन ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक बर्षको सोही अवधिमा रेमिट्यान्स जम्मा १५.६ प्रतिशतले मात्र बढेको थियो । २०८३ जेठ महिनामा मात्र नेपालमा २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो आर्थिक बर्षको जेठ महिनामा जम्मा १ खर्ब ७६ अर्ब ३२ करोड बराबरको रकम नेपाल भित्रिएको केन्द्रिय बैंकले जनाएको छ ।
चालु आर्थिक बर्षमा सवैभन्दा बढी बैशाख महिनामा मात्र नेपालमा २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । त्यस्तै असोजमा २ खर्ब १ अर्ब रुपैयाँ र चैतमा २ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा अमेरिकी डलरमा रेभिट्यान्स २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक बर्षको ११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ६७ हजार २११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ५५ हजार ७३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५२ हजार ३२४ र ३ लाख ८ हजार ६७ रहेको थियो ।
प्रतिक्रिया