वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस

नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस
अर्थटुडे
२०८३ असार ३०, मंगलवार

काठमाडौँ । नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहबिच परराष्ट्र मन्त्री माननीय शिशिर खनालसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।  यसअघि एक वर्षसम्म नेपालका लागि युएनएफपीएको अन्तरिम प्रतिनिधिको रूपमा कार्य गरिसकेका श्रीलङ्काको नागरिक हरिदासले जुलाई २०२६ देखि पूर्ण प्रतिनिधिको रूपमा कार्यभार सम्हालेका हुन् । हरिदासको एसिया र अफ्रिकाका विभिन्न मुलुकहरूमा रणनीतिक नेतृत्व, जनसङ्ख्या कार्यक्रम र मानवीय सहायताका क्षेत्रमा २३ वर्षभन्दा बढी लामो अन्तर्राष्ट्रिय अनुभव रहेको छ।

औपचारिक प्रमाणपत्र बुझ्ने क्रममा मन्त्री खनाल र नवनियुक्त प्रतिनिधि हरिदासबीच नेपाल सरकार र युएनएफपीएबिचको बलियो साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै जनसङ्ख्या तथा विकास, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, लैङ्गिक समानता एवं तथ्याङ्कमा आधारित नीति निर्माणका क्षेत्रमा रणनीतिक सहकार्य गर्ने विषयमा छलफल भयो। साथै, नेपालको बदलिँदो जनसाङ्ख्यिक परिदृश्यलाई सम्बोधन गर्न र समावेशी तथा दिगो विकासका लागि जनसाङ्ख्यिक तथ्याङ्क प्रणाली र विश्लेषणलाई सुदृढ बनाउने महत्त्वमा जोड दिइयो।

त्यसक्रममा परराष्ट्र मन्त्री खनालले जनसङ्ख्या तथा विकासका प्राथमिकताहरूलाई अघि बढाउन र स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न नेपालले युएनएफपीएसँगको लामो साझेदारीलाई उच्च महत्त्व दिने उल्लेख गरे । नेपालले बदलिँदो जनसाङ्ख्यिक प्रवृत्तिलाई सम्बोधन गरिरहेको यस अवस्थामा, जनसाङ्ख्यिक परिवर्तन र जनसङ्ख्याको गतिशीलतालाई विकास योजनाहरूमा एकीकृत गर्न युएनएफपीए लगायत  साझेदारहरूसँगको रणनीतिक सहकार्य अपरिहार्य रहेको उनकाे भनाइ थियो।

नवनियुक्त प्रतिनिधि हरिदासले नेपालको विकासका प्राथमिकताहरू तथा अन्तर्राष्ट्रिय जनसङ्ख्या तथा विकास सम्मेलन को कार्ययोजनाप्रति युएनएफपीएको प्रतिबद्धता दोहोर्‍याए ।  राष्ट्रिय जनसंख्या प्रणालीलाई सुदृढ गर्नका लागि सरकार तथा सरोकारवाला साझेदारहरूसँग मिलेर काम गर्ने स्पष्ट पार्दै उहाँले नेपाल हाल एक महत्त्वपूर्ण जनसाङ्ख्यिक मोडमा रहेको र दिगो विकासका लागि परिवर्तनको लाभ उठाउने ठुला अवसरहरू रहेको औँल्याए ।

हरिदासले जनसाङ्ख्यिक सूचना एवं ज्ञानलाई सुदृढ गर्न, महिला, किशोरी र युवाहरूको अधिकार तथा छनोटको रक्षा गर्न, र जनसङ्ख्याको गतिशीलताले समावेशी एवं दिगो विकासमा योगदान पुर्‍याउने कुरा सुनिश्चित गर्न नेपाल सरकारसँगको युएनएफपीएको साझेदारीलाई अझ प्रगाढ बनाउन आफू उत्सुक रहेको समेत उल्लेख गरे ।

युएनएफपीएले सन् १९७१ देखि नेपाल सरकारसँग साझेदारी गर्दै आएको छ। यसले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा सुधार ल्याउन, लैङ्गिक समानताको प्रवर्द्धन गर्न, युवाहरूलाई सशक्त बनाउन, जनसङ्ख्या तथ्याङ्क प्रणालीलाई सुदृढ गर्न र विकासको मूल प्रवाहमा कोही पनि पछि नपर्ने कुरा सुनिश्चित गर्न राष्ट्रिय प्रयासहरूमा सहयोग पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?