काठमाडौं। सरकार गठन भएयता सेयर बजार लगातार ओरालो लागिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहले आज मध्यान्ह १२ बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुने कार्यक्रम रहेको छ। यस्तै, पुँजी बजारसँग सम्बन्धित विज्ञ तथा सरोकारवाला प्रियराज रेग्मी र अम्बिका प्रसाद पौडेल पनि बैठकमा सहभागी हुनेछन्।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा पुँजी बजारको विकास र विस्तार, लगानीकर्ताको विश्वास अभिवृद्धि, धितोपत्र तथा बीमा क्षेत्रको संस्थागत सुदृढीकरण, नियामकीय सुधार र लगानीमैत्री वातावरण निर्माणका विषयमा सरोकारवालाहरूको सुझाव संकलन गरिनेछ।
सरकारले पुँजी बजार र वित्तीय क्षेत्रको सुधारलाई प्राथमिकतामा राखिरहेको सन्दर्भमा आयोजना हुन लागेको यस छलफललाई आगामी नीतिगत निर्णय तथा सुधारका लागि महत्त्वपूर्ण मानिएको छ।
प्रतिक्रिया