काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेञ्चर) निष्काशन तथा बिक्री साउन १४ गतेदेखि खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ जारी गर्न लागेको हो।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। कुल निष्काशनमध्ये १८ लाख कित्ता (६० प्रतिशत) व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फको निष्काशनमध्ये ६० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जनाएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा साउन १९ गते र पर्याप्त आवेदन नपरे ढिलोमा साउन २८ गते बन्द हुनेछ।
उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया