वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजारबाट एक खर्ब उठाउँदै राष्ट्र बैंक

बजारबाट एक खर्ब उठाउँदै राष्ट्र बैंक
अर्थटुडे
२०८३ श्रावण ६, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा निरन्तर थुप्रिँदै गएको अधिक तरलता व्यवस्थापनका लागि ९१ दिन अवधिको १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दैछ । पछिल्लो समय बैंकहरूमा लगानीयोग्य पुँजी प्रशस्त भए पनि कर्जा विस्तार अपेक्षाअनुसार हुन नसकेको अवस्थामा केन्द्रीय बैंकले बजारबाट अतिरिक्त तरलता सोस्ने नीति निरन्तर अघि बढाएको हो ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार बुधबार बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब रुपैयाँ संकलन गरिनेछ। इच्छुक संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यस उपकरणको ब्याजदर बजारमै हुने प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाले एउटै वा फरक–फरक ब्याजदरमा पनि प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिने व्यवस्था गरेको छ भने त्यसपछि ५ करोड रुपैयाँका गुणकमा आवेदन दिनुपर्नेछ। कुल मागभन्दा बढी आवेदन परेमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ ।

पछिल्ला महिनाहरूमा रेमिट्यान्स वद्धि, सरकारी खर्चको ढिलाइ तथा अपेक्षाभन्दा कमजोर कर्जा विस्तारका कारण बैंकिङ प्रणालीमा ठूलो मात्रामा तरलता थुप्रिएको छ । यसको प्रत्यक्ष असर अन्तरबैंक ब्याजदरमा दबाब, अल्पकालीन ब्याजदरमा गिरावट तथा मौद्रिक व्यवस्थापनमा चुनौतीका रूपमा देखिएको छ।
यही अवस्थालाई सन्तुलनमा राख्न राष्ट्र बैंकले समय–समयमा निक्षेप संकलन, तथा अन्य खुला बजार कारोबार प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?