काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूको नाफामा भारी गिरावट आएको छ। जेनजी आन्दोलन तथा बाढीपहिरोका कारण ठूलो रकमको दाबी भुक्तानी गर्नुपरेको र बैंकको ब्याजदर घट्दा आम्दानीमा कमी आएपछि कम्पनीहरूको नाफा घटेको हो।
कम्पनीहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीको कुल खुद नाफा ३८.४९ प्रतिशतले घटेको छ। अघिल्लो आवमा यी कम्पनीहरूले कुल ४ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएका थिए। गत आवमा भने यस्तो नाफा घटेर २ अर्ब ७२ करोड रुपैयाँमा सीमित भएको छ।
गत आवमा निर्जीवन बीमा कम्पनीहरूमध्ये नेशनल इन्स्योरेन्स कम्पनी मात्र घाटामा रहेको छ। अघिल्लो आवको तुलनामा सबैभन्दा ठूलो नाफा गिरावट दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीको रहेको छ, जसको नाफा ५१६ प्रतिशतले घटेको छ। अघिल्लो आवको तुलनामा प्रभु इन्स्योरेन्सले मात्र नाफा बढाउन सफल भएको छ।
गत भदौमा भएको जेनजी आन्दोलन र असोजमा आएको बाढीपहिरोका कारण निर्जीवन बीमा कम्पनीहरूमा ३८ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको थियो। आन्दोलनका क्रममा भएको क्षतिको ठूलो हिस्सा कम्पनीहरूले नै व्यहोर्नुपरेका कारण पनि उनीहरूको वित्तीय अवस्थामा दबाब परेको हो।
एकैपटक ठूलो रकमको दाबी भुक्तानी गर्नुपर्दा कम्पनीहरूको वित्तीय अवस्था गत आवको पहिलो त्रैमासदेखि नै प्रभावित भएको थियो। पहिलो त्रैमासमै निर्जीवन बीमा कम्पनीहरूले कुल १ अर्ब ९५ करोड रुपैयाँ घाटा व्यहोरेका थिए।
दोस्रो त्रैमासदेखि वित्तीय अवस्थामा सुधार गर्दै लगेका कम्पनीहरू चौथो त्रैमाससम्म आइपुग्दा नेशनल इन्स्योरेन्सबाहेक अधिकांश कम्पनी खुद नाफामा फर्किएका छन्। यद्यपि, अघिल्लो आवको तुलनामा १३ कम्पनीको नाफा घटेको छ भने प्रभु इन्स्योरेन्सको मात्र नाफा वृद्धि भएको छ।
प्रतिक्रिया