वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भोटेकोशीमा भीषण बाढी

रसुवादेखि चितवनसम्म असर, उद्धार र क्षति विवरण संकलनमा सरकार सक्रिय

रसुवादेखि चितवनसम्म असर, उद्धार र क्षति विवरण संकलनमा सरकार सक्रिय
अर्थटुडे
२०८३ भाद्र १०, बुधबार

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्मका नदी तटीय क्षेत्र प्रभावित बनेका छन् । बुधबार बिहान आएको बाढीको असर जलविद्युत् आयोजना, प्रसारण संरचना, सडक तथा पुलदेखि नदी किनारका बस्ती र जनजीवनसम्म फैलिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा क्षतिको विवरण संकलनका लागि सरकार सक्रिय बनेको छ ।

बाढीले रसुवाको टिमुरेमा रहेको भन्सार कार्यालयमा क्षति गरेको छ । टिमुरे, बेत्रावतीलगायतका तटिय क्षेत्रको बजारमा ठुला क्षति गरेको आंकलन गरिएको छ ।

रसुवा क्षेत्रमा बाढीले जलविद्युत् आयोजनाका पावरहाउस तथा अन्य भौतिक संरचनामा गम्भीर क्षति पु¥याएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार १११ मेगावाटको रसुवागढी, २४ मेगावाटको त्रिशूली, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए र १४.८ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको छ ।

बाढीको असर तलतिरका जिल्लासम्म

रसुवाबाट तलतिर बग्ने नदीमा पानीको सतह बढेसँगै नुवाकोट, धादिङ हुँदै चितवनसम्मका नदी किनारका क्षेत्रमा जोखिम बढेको छ । नदीको बहाव अस्वाभाविक रूपमा बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

बाढीका कारण विभिन्न स्थानमा सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको विवरण आउने क्रम जारी छ । कतिपय स्थानमा नदी आसपासका बस्ती जोखिममा परेपछि स्थानीय प्रशासनले निगरानी बढाएको छ।

तर बाढी प्रभावित क्षेत्रका धेरै स्थानमा सञ्चार तथा सडक सम्पर्कमा समस्या आएकाले क्षतिको यकिन विवरण अझै आउन सकेको छैन। विशेषगरी जलविद्युत् आयोजना आसपास कार्यरत कर्मचारी तथा प्राविधिकसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

उद्धारमा सरकारको सक्रियता

सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई आवश्यकताअनुसार परिचालन गरी प्रभावितको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

जोखिमयुक्त नदी किनारका बस्तीमा स्थानीय प्रशासनमार्फत सतर्कता अपनाउन सूचना प्रवाह गरिएको छ। बाढीको बहाव र पानीको सतहको निरन्तर निगरानी गर्दै आवश्यक स्थानमा उद्धार टोली परिचालन गर्ने तयारी भइरहेको छ ।

सरकारका विभिन्न निकायले क्षतिको विवरण संकलनसमेत सुरु गरेका छन् । जलविद्युत् आयोजना, सडक, पुल, प्रसारण लाइन, बस्ती तथा अन्य सार्वजनिक संरचनामा भएको क्षतिको एकीकृत विवरण तयार पार्ने काम भइरहेको छ ।

प्रभावित क्षेत्रमा पानीको बहाव कम भएपछि मात्रै वास्तविक क्षतिको अवस्था स्पष्ट हुने अधिकारीहरूको भनाइ छ । अहिले प्राथमिकतामा मानिसको ज्यान जोगाउने, जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने, सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने र अत्यावश्यक सेवा पुनःसञ्चालन गर्ने काम रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?