वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढीको कहर

पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द

पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द
अर्थटुडे
२०८३ भाद्र १०, बुधबार

काठमाडौं । भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि पृथ्वी राजमार्गको पूर्वी खण्डमा यातायात सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीको तटीय क्षेत्र तथा आसपासका नदी खोलाहरूमा बाढीको उच्च जोखिम रहेकाले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गको पूर्वी खण्डमा यातायात सेवा बन्द गरिएको जनाएको हो ।

प्रशासनले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा बाढीको जोखिम बढेकाले राजमार्गमा सवारी आवागमन रोकिएको हो ।

तिब्बतबाट भोटेकोशीमा आएको बाढी त्रिशुली हुँदै नारायणी प्रवेश गर्ने क्रममा छ । बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा जलविद्युत् आयोजना, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । बाढीको प्रभाव त्रिशूली नदीको तटीय क्षेत्र हुँदै तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने जोखिम रहेको छ ।

जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि राजमार्गमा आवतजावत नगर्न र नदी तथा खोलाको आसपासमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । बाढीको अवस्था र जोखिमको मूल्यांकनपछि मात्रै यातायात सञ्चालनबारे थप निर्णय गरिने जनाइएको छ ।

बाढीका कारण पृथ्वी राजमार्ग नै अनिश्चितकालका लागि बन्द भएपछि काठमाडौंलाई धादिङ, चितवनलगायतका क्षेत्रसँग जोड्ने महत्वपूर्ण सडकमार्गको आवागमन प्रभावित भएको छ । यसबाट यात्रु तथा मालवाहक सवारीसाधनको आवतजावतमा समेत ठूलो असर पर्ने देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?