काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रले आर्थिक तथा जिन्सी सहयोग जुटाउन थालेको छ। उपलब्ध विवरणअनुसार विभिन्न बैंक, बीमा कम्पनी, व्यावसायिक घराना तथा निजी संस्थाले कम्तीमा ३६ करोड १९ लाख रुपैयाँ आर्थिक सहयोग घोषणा गरेका छन्।
यसमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले घोषणा गरेको ५ करोड रुपैयाँ समेत जोड्दा प्रतिबद्ध आर्थिक सहयोग ४१ करोड १९ लाख रुपैयाँ पुग्छ। त्यसमाथि कुमारी बैंकले उपलब्ध गराएको करिब ३९ लाख रुपैयाँ बराबरको उद्धार सामग्री र ओम मेगा श्री फर्मास्युटिकल्स तथा एनआरएनएको साझेदारीमा उपलब्ध गराइएको ७ लाख रुपैयाँ बराबरको औषधि जोड्दा निजी क्षेत्रको सहयोगको आकार करिब ४१ करोड ६५ लाख रुपैयाँ पुग्ने देखिन्छ।
अर्थ मन्त्रालयका अनुसार विभिन्न दाताबाट प्राप्त सहयोग बुझ्ने क्रम जारी छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्र तथा विभिन्न संस्थाबाट प्राप्त सहयोग ग्रहण गरिरहेका छन्।
गोर्खा ब्रुअरीको सबैभन्दा ठूलो सहयोग
उपलब्ध विवरणअनुसार सबैभन्दा ठूलो सहयोग गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ गरेको छ। त्यसपछि ग्लोबल आईएमई बैंकले ५ करोड रुपैयाँ सहयोग गरेको छ।
नेपाल बैंकले ३ करोड १ लाख, कुमारी बैंकले ३ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३ करोड रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले २ करोड ५० लाख, एनआईसी एसिया बैंकले २ करोड २१ लाख तथा रेडबुल उत्पादक सारस बेभरेजेजले २ करोड रुपैयाँ सहयोग गरेका छन्।
एनसेल, आईएमई लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र एक्स्ट्रिम इनर्जी ड्रिंक्सले समान १–१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र श्री शक्ति ग्रुपले ५१–५१ लाख रुपैयाँ तथा कामना सेवा विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेका छन्। रिलायन्स सुगर मिल एन्ड केमिकल इन्डस्ट्रिज र नाडाले १०–१० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्।
पैसासँगै उद्धार सामग्री पनि
कुमारी बैंकले आर्थिक सहयोगबाहेक करिब ३९ लाख रुपैयाँ बराबरका पाँचवटा निगरानी ड्रोन, तीनवटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक नेपाली सेनालाई उपलब्ध गराएको छ। ती सामग्री बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमनका लागि प्रयोग गरिने बैंकले जनाएको छ।
कामना सेवा विकास बैंकले कर्मचारीको एक दिनको तलबबाट १५ लाख र बैंकका तर्फबाट १० लाख गरी कुल २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। एनआईसी एसिया बैंकले पनि बैंकको तर्फबाट २ करोड रुपैयाँ र सञ्चालक तथा कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।
नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ।
एनआरएनएबाट ५ करोड, औषधि सहयोग पनि
बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल ५ करोड रुपैयाँबराबरको सहयोग गर्ने निर्णय गरेको छ। विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक दाताले सिधै सरकारको राहत कोषमा रकम जम्मा गर्न सक्ने गरी सरकारले नयाँ पोर्टलसमेत सञ्चालनमा ल्याएको छ।
यस्तै, ओम मेगा श्री फर्मास्युटिकल्स लिमिटेड र एनआरएनएको संयुक्त साझेदारीमा ७ लाख रुपैयाँ बराबरको अत्यावश्यक औषधि हस्तान्तरण गरिएको छ। प्रभावित क्षेत्रमा थप २० लाख रुपैयाँ बराबरको औषधि पठाउने तयारीसमेत भइरहेको जनाइएको छ।
बाढीपछि निजी क्षेत्रको सक्रियता
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ।
बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार, अस्थायी आश्रय र पुनःस्थापनाका लागि सरकारी संयन्त्रसँगै निजी क्षेत्रबाट पनि सहयोग बढ्दै गएको छ। बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योगी–व्यवसायी र अन्य संस्थाहरूले नगदसँगै उद्धार तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन थालेका छन्।
प्रतिक्रिया