काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारका क्रममा हालसम्म (शुक्रबार १२ बजेसम्म) ४७७ जनाको शव फेला परेको छ भने ९७७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणले देखाएको छ।
प्राधिकरणले भदौ २१ गते मध्याह्न १२ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व–पश्चिम, तनहुँ र चितवनसम्म मानवीय क्षति भएको जनाएको हो।
सबैभन्दा धेरै शव चितवनमा १८६ वटा फेला परेका छन्। त्यस्तै नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ वटा शव फेला परेको प्राधिकरणको तथ्यांक छ। गोरखामा फेला परेका शवमा विभिन्न मानव अंगसमेत रहेको उल्लेख छ।
९७७ जना सम्पर्कविहीन
बाढीपछि ९७७ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। यसमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना छन्।
त्यस्तै रसुवाका १६१ र नुवाकोटका एक जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। मकवानपुरका ६६ जना, सम्पर्कविहीन विदेशी नागरिक १५७ जना तथा नेपाल घुम्न आएका विदेशी मुलुकमा बस्ने नेपाली नागरिक १२७ जना रहेको विवरणमा उल्लेख छ।
बाढी तथा त्यसपछिको घटनामा ७३ जना घाइते भएका छन्। रसुवामा ४३, धादिङमा ३ र नुवाकोटमा २७ जना घाइते भएको प्राधिकरणको तथ्यांक छ।
३ हजार २५३ जनाको उद्धार
बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायको सक्रियतामा हालसम्म ३ हजार २५३ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी १५ वटा हेलिकप्टर उडानमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
उद्धार तथा राहत अभियानमा मात्रै १५ हजार १०५ सुरक्षाकर्मी परिचालन भएका छन्। जसमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका ३ हजार ६५५ जना छन्।
रसुवा र नुवाकोटमा करोडौंको नगद राहत
सरकारले प्रभावित जिल्लामा नगद राहतसमेत पठाएको छ। रसुवामा १ करोड रुपैयाँ, नुवाकोटमा १ करोड रुपैयाँ र धादिङमा ५० लाख रुपैयाँ पठाइएको प्राधिकरणको विवरणमा उल्लेख छ।
राहत सामग्रीतर्फ प्रभावित क्षेत्रमा १० ट्रक सामग्री पठाइएको छ। त्यसमा चाउचाउ, बिस्कुट, त्रिपाल, टेन्टलगायत सामग्री छन्। प्रभावित क्षेत्रमा सञ्चार सेटसमेत पठाइएको छ भने हेलिकप्टरमार्फत चार उडान गरेर खाद्य तथा गैरखाद्य सामग्री पुर्याइएको छ। थप २० ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया