वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भोटेकोशी बाढीपीडितका लागि ‘बिजनेस रिकभरी प्याकेज’

भोटेकोशी बाढीपीडितका लागि ‘बिजनेस रिकभरी प्याकेज’
अर्थटुडे
२०८३ भाद्र १२, शुक्रबार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायिक संस्थाको आर्थिक पुनःस्थापनाका लागि सरकारले ‘बिजनेस रिकभरी प्याकेज’ ल्याउने भएको छ । बाढीबाट घर, व्यवसाय तथा आर्थिक गतिविधिमा क्षति पुगेका प्रभावितलाई पुनःव्यवसाय सञ्चालन गर्न सहुलियत उपलब्ध गराउने गरी प्याकेज तयार गर्न सरकारले अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित व्यक्ति तथा व्यवसायिक संस्थालाई लक्षित गरी व्यवसाय पुनःस्थापना तथा आर्थिक गतिविधि सञ्चालनमा सहयोग पुग्ने विशेष प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै बाढी प्रभावितको व्यवसाय तथा आर्थिक गतिविधि पुनः सञ्चालनमा सहयोग पुग्ने गरी प्याकेज तयार गरिने जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको शुक्रबार मध्याह्नसम्मको विवरणअनुसार भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा ४७७ जनाको शव फेला परिसकेको छ भने ९७७ जना अझै सम्पर्कविहीन छन् । बाढीमा ७३ जना घाइते भएका छन् ।

बाढीबाट भएको भौतिक क्षतिको अहिलेसम्म मूल्यांकन सुरु भएको छैन । प्रारम्भिक जानकारी बाढीले सडक, पुल, जलविद्युत्, भन्सार, बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान र अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। सरकारले बाढीबाट पूर्वाधार क्षेत्रमा मात्रै करिब २ खर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीपछि प्रारम्भिक रूपमा पूर्वाधारमा दुई खर्ब रुपैयाँ हाराहारी क्षति भएको जानकारी दिएका थिए।

बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जोड्ने त्रिशूली करिडोरको सडक तथा पुलमा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रमा ४१ वटा प्रमुख पुलमा क्षति पुगेको छ भने करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सडक र पुलको क्षति मात्रै करिब २० अर्ब रुपैयाँ बराबर रहेको प्रारम्भिक अनुमान छ।

बाढीको अर्को ठूलो मार जलविद्युत् क्षेत्रमा परेको छ। रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १३ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।

प्रारम्भिक आकलनअनुसार जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनामा मात्रै करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको ऊर्जा क्षेत्रका प्रवर्द्धकहरूले बताएका छन्।

बाढीले चीनसँगको व्यापारको मुख्य प्रवेशद्वार रसुवागढी भन्सारको भौतिक संरचनामा पूर्ण क्षति पुर्‍याएको छ। भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन तथा ठूलो परिमाणमा सामानसमेत बगेका छन्।

प्रारम्भिक विवरणअनुसार यार्डमा रहेका करिब २०० कन्टेनर सामान बाढीले बगाएको व्यवसायीहरूले बताएका छन्। सयौं मालवाहक सवारीसाधनसमेत क्षतिग्रस्त भएका छन्।

बाढीबाट बैंक तथा वित्तीय संस्थाको संरचनासमेत जोगिन सकेन। प्रारम्भिक विवरणअनुसार बैंक वित्तीय संस्थाका १८ वटा शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

रसुवादेखि चितवनसम्म नदि आसपास रहेका सर्वसाधारणको घर, व्यापार, व्यवसायका साथै पशु चौपाय र खेती समेत बगाएकाले अवौंको क्षति भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?