काठमाडौं । रसुवागढी–केरुङ नाका जोड्ने सडक बाढीका कारण क्षतिग्रस्त भएपछि चीनबाट नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) को आपूर्ति प्रभावित हुने चिन्ता बढिरहेका बेला अटोमोबाइल व्यवसायीहरूले नाडा अटो शोमा बुकिङ भएका गाडीको डेलिभरीमा समस्या नहुने बताएका छन्। व्यवसायीहरूले रसुवागढी नाका सञ्चालनमा नआए पनि वैकल्पिक नाका र मार्ग प्रयोग गरेर नाडा अटो शोमा बुकिङ भएका गाडी दशैं–तिहारसम्म ग्राहकलाई उपलब्ध गराउने बताएका हुन्। ढुवानीमा केही समय बढी लाग्न सक्ने भए पनि ग्राहकले बुकिङ र डेलिभरीलाई लिएर चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनीहरूको भनाइ छ।
बुधबार रसुवा क्षेत्रमा आएको भीषण बाढीले रसुवागढी नाका जोड्ने सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। सडक विभागका अनुसार बेत्रावतीदेखि रसुवागढीसम्मको करिब ४२ किलोमिटर सडक बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त भएको छ। यससँगै चीनबाट नेपाल आयात हुने सवारीसाधनको नियमित आपूर्ति प्रभावित भएको छ। तर, नेपालमा बिक्री हुने सबै चिनियाँ ब्राण्डका गाडी रसुवागढी नाकामै निर्भर नरहेकाले कम्पनीहरूले वैकल्पिक आपूर्ति व्यवस्थाको तयारी थालेका छन्।
डिपलका गाडी थाइल्याण्ड हुँदै वीरगञ्ज
डिपलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रबहादुर चन्दले डिपलका गाडी थाइल्याण्डमा उत्पादन हुने र भारत हुँदै वीरगञ्ज भन्सारबाट नेपाल भित्रिने भएकाले रसुवागढी नाकाको अवरोधले आफ्नो ब्राण्डको आपूर्तिमा असर नपर्ने बताए।
उनका अनुसार नाडा अटो शोमा बुकिङ भएका सबै डिपल गाडी तिहारभित्रै ग्राहकलाई उपलब्ध गराउने तयारी भइरहेको छ।
“डिपलका गाडी थाइल्याण्डमा उत्पादन हुन्छन् र भारत हुँदै नेपाल ल्याउने भएकाले रसुवागढी नाकाको समस्याले हाम्रो आपूर्तिमा असर गर्दैन,” चन्दले भने, “नाडा अटो शोमा बुकिङ भएका सबै गाडी तिहारभित्र ग्राहकलाई उपलब्ध गराउनेछौं।”
एमएडब्ल्यू वैकल्पिक नाकाको खोजीमा
एमएडब्ल्यू ग्रुपका कार्यकारी निर्देशक मिलनबाबु मल्लले रसुवागढी हुँदै नेपाल ल्याउने तयारी गरिएका गाडीलाई अब वैकल्पिक मार्गबाट ल्याउने तयारी भइरहेको बताए। तर, बाढीले रसुवा भन्सार क्षेत्रमा कम्पनीका करिब १५० वटा नामी ब्राण्डका ईभी क्षतिग्रस्त भएको उनले जानकारी दिए।
“हाम्रा करिब १५० वटा नामी ब्राण्डका ईभी रसुवा भन्सार क्षेत्रमा बाढीले बगाएको छ,” मल्लले भने, “अब नाडा अटो शोमा बुकिङ भएका तथा आगामी दिनमा बुकिङ हुने गाडी वैकल्पिक मार्ग प्रयोग गरेर नेपाल ल्याउनेछौं।” उनका अनुसार अहिले कोरला नाका प्रयोग गर्ने तयारी भइरहेको छ। तातोपानी नाका सञ्चालनमा रहे पनि त्यसबाट गाडी ल्याउँदा दूरी लामो हुने र ढुवानी खर्च बढ्ने भएकाले कोरला मार्गलाई प्राथमिकतामा राखिएको हो।
चिनियाँ साझेदार कम्पनीहरूले समेत वैकल्पिक मार्गबाट गाडी ढुवानी गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको मल्लले बताए। एमएडब्ल्यू वृद्धि मोटर्सले नेपालमा डिपल, अवतार, फोटोन, डोङफेङ (नामी) र एम हिरो लगायतका ब्राण्डका सवारीसाधन बिक्री–वितरण गर्दै आएको छ।
मल्लका अनुसार नाडा अटो शोमा नामीको ‘भिगो’ मोडलमा ग्राहकको आकर्षण बढी देखिएको छ। बुकिङ भएका तथा आगामी दिनमा बुकिङ हुने गाडीसमेत तिहारसम्म ग्राहकलाई उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए। “केही समय बढी लाग्न सक्छ, तर ग्राहक निराश हुनुपर्ने अवस्था छैन। वैकल्पिक मार्गबाट भए पनि गाडी ल्याउने व्यवस्था मिलाउँछौं,” उनले भने।
बीवाईडीलाई रसुवागढीको असर छैन
नेपालमा बीवाईडीको बिक्री–वितरण गर्दै आएको सिमेक्स इंक प्रालिले भने रसुवागढी नाकामा भएको अवरोधले आफ्नो आपूर्तिमा प्रत्यक्ष असर नपर्ने जनाएको छ।
कम्पनीका म्यानेजर आशिष शाक्यका अनुसार बीवाईडीका गाडी रसुवागढी नाका हुँदै नेपाल भित्रिँदैनन्। “हामीले बीवाईडीका गाडी रसुवागढी नाका हुँदै ल्याउने गरेका छैनौं। हाम्रा गाडी वैकल्पिक मार्गबाट आउने भएकाले रसुवामा आएको बाढीले हाम्रो आपूर्तिमा असर गरेको छैन,” शाक्यले भने।
अन्य ब्राण्ड पनि वैकल्पिक मार्गको तयारीमा
रसुवागढी नाका अवरुद्ध भएपछि चीनबाट सवारीसाधन आयात गर्ने अन्य व्यवसायीसमेत वैकल्पिक नाका र ढुवानी मार्गको खोजीमा छन्।
नेपालमा विभिन्न चिनियाँ तथा अन्य अन्तर्राष्ट्रिय ब्राण्डका सवारीसाधन बिक्री गर्दै आएका सीजी मोटर्स, सिमेक्स इंक, जगदम्बा मोटर्स, पारामाउन्ट मोटर्स र एसपीजी अटोमोबाइल्स लगायतका व्यवसायीले आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिएका छन्।
सीजी मोटर्सले आयोन र रिडारा, सिमेक्स इंकले बीवाईडी, जगदम्बा मोटर्सले प्रोटोन, पारामाउन्ट मोटर्सले एमजी र विलिङ तथा एसपीजी अटोमोबाइल्सले ओमोडा, जेको र चेरी आइकुर लगायतका ब्राण्ड बिक्री–वितरण गर्दै आएका छन्।
उत्तरी नाकामा यसअघि पनि विभिन्न समयमा अवरोध हुँदा चीनबाट हुने ईभी आयात प्रभावित हुँदै आएको थियो। यसपटक भने नाडा अटो शोमा भएको बुकिङ र दशैं–तिहारको मुख्य बिक्री सिजनलाई असर पर्न नदिने गरी व्यवसायीहरूले वैकल्पिक आपूर्ति व्यवस्थामा जोड दिएका छन्।
व्यवसायीहरूका अनुसार रसुवागढी नाका तत्काल सञ्चालनमा नआए ढुवानी लागत र समय बढ्न सक्छ। तर, वैकल्पिक मार्गबाट गाडी ल्याउने व्यवस्था मिलाएर नाडा अटो शोमा बुकिङ गरेका ग्राहकलाई दशैं–तिहारसम्म सवारीसाधन उपलब्ध गराउने लक्ष्य राखिएको छ।
नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ। दशैं–तिहारअघि गाडी खरिद गर्ने ग्राहकको ठूलो चासो रहने भएकाले नाकामा आएको अवरोधबीच पनि व्यवसायीहरूले आपूर्ति व्यवस्थालाई नियमित राख्न वैकल्पिक मार्गलाई तीव्रता दिएका छन्।
प्रतिक्रिया