काठमाडौं । भोटेकोशी बाढीका कारण तीन दिनदेखि सडक सञ्जालबाट विच्छेद भएको रसुवा शुक्रबारदेखि पुनः सडक सञ्जालसँग जोडिएको छ। बाढीले मुख्य सडक र पुलहरूमा क्षति पुर्याएपछि अवरुद्ध बनेको जिल्लामा वैकल्पिक सडकमार्फत यातायात सञ्चालनमा ल्याइएको हो। वैकल्पिक सडक सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्री पुर्याउन सहज भएको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जानकारी दिए।
थापाका अनुसार सडक सम्पर्क विच्छेद हुँदा रसुवाको वास्तविक अवस्था बुझ्नसमेत कठिनाइ भएको थियो। वैकल्पिक मार्ग खुलेपछि प्रभावित क्षेत्रको अवस्था स्थलगत रूपमा बुझ्न तथा आवश्यक राहत र उद्धारका काम अघि बढाउन सहज भएको उनले बताए।
टोखा–छहरे हुँदै धुन्चेसम्म पुग्न सकिने
मुख्यमन्त्री थापाका अनुसार अहिले काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क–बोगटीटार–कालिकास्थान हुँदै रसुवा सदरमुकाम धुन्चे पुग्न सकिने भएको छ। उक्त वैकल्पिक सडकमा हाल चारपांग्रे साना सवारीसाधन सञ्चालन गर्न सकिने बताइएको छ। मुख्य सडकमा बाढीले ठूलो क्षति पुर्याएपछि जिल्लासँग सडक सम्पर्क कायम गर्न यो मार्ग प्रयोगमा ल्याइएको हो। वैकल्पिक सडक खुलेसँगै प्रदेश सरकार तथा स्थानीय प्रशासनलाई प्रभावित क्षेत्रमा राहत तथा उद्धारका सामग्री पुर्याउन र क्षतिको विवरण संकलन गर्नसमेत सहज भएको छ।
मुख्यमन्त्री धुन्चे पुगेर क्षतिको अवस्था बुझे
वैकल्पिक सडक सञ्चालनमा आएपछि मुख्यमन्त्री थापा शुक्रबार रसुवा सदरमुकाम धुन्चेसम्म पुगेका थिए। उनले स्थानीय जनप्रतिनिधिसँग भेट गरी बाढीबाट जिल्लामा भएको क्षति तथा उद्धार र राहतको अवस्थाबारे जानकारी लिएका थिए।
स्थानीय जनप्रतिनिधिसँगको छलफलका क्रममा उनले बाढीबाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधारको पुनःस्थापनालाई प्राथमिकता दिने बताए। मुख्यमन्त्री थापाले वैकल्पिक सडकको स्तरवृद्धि गरी स्थानीयलाई सहज यातायात सुविधा उपलब्ध गराउन प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्।
भोटेकोशी बाढीले रसुवाको मुख्य सडक तथा पुलमा ठूलो क्षति पुर्याएपछि जिल्लाको बाहिरी क्षेत्रसँगको यातायात सम्पर्क पूर्णरूपमा विच्छेद भएको थियो। वैकल्पिक मार्ग खुलेसँगै तीन दिनपछि रसुवा पुनः सडक सञ्जालमा जोडिएको हो।
प्रतिक्रिया