काठमाडौं । रसुवाको भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा मृत्यु हुनेको संख्या ७३४ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आईतबार विहान ९ बजेसम्म बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीमा २ हजार ४८५ जना सम्पर्कविहीन रहेको जनाएको हो ।
प्राधिकरणका अनुसार मृत्यु हुनेमा रसुवाका १३, नुवाकोटका ५२, धादिङका ५०, गोरखाका ५८, नवलपरासी पूर्वका १६४, नवलपरासी पश्चिमका ६२, तनहुँका ३६ र चितवनका २९९ जना छन् । मृतकमा विभिन्न मानव अंगसमेत रहेको प्राधिकरणले जनाएको छ ।
बाढीमा २ हजार ४८५ जना सम्पर्कविहीन छन् । यसमध्ये जलविद्युत् आयोजनाबाट १३३, मकवानपुरबाट ६५, विदेशी नागरिक ४५८, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १२७ तथा लाङटाङ राष्ट्रिय निकुञ्जबाट तीन जना रहेको विवरण छ । त्यस्तै नेपाल प्रहरी ७९, नेपाली सेना ४५, सशस्त्र प्रहरी बल १३, भन्सार कार्यालय १५, अध्यागमन कार्यालय चार, रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा २४२ जना घाइते भएका छन् । उनीहरूको उपचार तथा उद्धारका लागि प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ ।
८ हजारभन्दा बढीको उद्धार
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १९६ जनाको उद्धार गरिएको छ । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन भएका छन् ।
जलविद्युत् आयोजनाको सुरुङबाट समेत उद्धार कार्य गरिएको छ । भदौ १२ र १३ गते गरी सुरुङबाट २७७ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै हालसम्म २२७ जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
राहत सामग्री र नगद सहयोग
सरकारले प्रभावित जिल्लामा राहतका लागि नगद तथा सामग्री परिचालन गरेको छ । रसुवामा १ करोड रुपैयाँ, नुवाकोटमा १ करोड रुपैयाँ, धादिङमा ४० लाख रुपैयाँ र १५ वटा पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
यसैगरी प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ । हेलिकप्टरबाट सात उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको तथा प्रभावित क्षेत्रमा सञ्चार सेटसमेत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
भदौ १३ गते मात्रै २ टन खाद्य सामग्री उत्तरगया र धुन्चे पठाइएको र हेलिकप्टरबाट उद्धार सामग्रीसमेत पठाइएको छ ।
प्राधिकरणका अनुसार सम्पर्कविहीन तथा विदेश जाने नेपाली, उपचाररत व्यक्ति र हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिको विस्तृत विवरण संकलन तथा अद्यावधिक गर्ने काम भइरहेको छ ।
प्रतिक्रिया