काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत अभियान जारी रहँदा मानवीय क्षतिको भयावह विवरण सार्वजनिक भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १७ गते बिहान ९ बजेसम्मको अपडेट सार्वजनिक गर्दै बाढीबाट १ हजार ११४ जनाको मानवीय क्षति भएको जनाएको छ ।
प्राधिकरणका अनुसार विभिन्न स्थानबाट ९५ वटा शव सनाखत गरी बुझिलिइसकिएको छ भने २३२ जना घाइते भएका छन् । विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका घाइतेको संख्या १५२ रहेको छ।
प्राधिकरणका अनुसार करिब ३ हजार ११६ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीनमा विभिन्न सरकारी निकायका कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, विदेशी पर्यटकसँग गएका नेपाली, स्थानीय बासिन्दा तथा जलविद्युत् आयोजनामा कार्यरत जनशक्ति/कामदारलगायत रहेकाे प्राधिकरणकाे विवरणमा उल्लेख छ ।
११ हजारभन्दा बढीको उद्धार
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११,११३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । नेपाली सेनाले हेलिकोप्टरमार्फत मात्रै विदेशी २७३ जना र नेपाली ४,०९१ जनासहित ४,३६४ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाले हालसम्म ६२२ पटक हवाई उडान गरिसकेको छ। निजी क्षेत्रका हेलिकोप्टरबाट समेत २९ वटा उद्धार उडान भएका छन् ।
११ हजार बढी सुरक्षाकर्मीको परिचालन
उद्धार तथा राहतका लागि ११ हजार ३४४ सुरक्षाकर्मी परिचालन गरिएको छ । यसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका १ हजार ९१९ र सशस्त्र प्रहरी बल नेपालका १,५०३ जना रहेको प्राधिकरणको विवरणमा उल्लेख छ । प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक र ३७ बोलेरो मार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ । साथै हेलिकोप्टरबाट ९ वटा उडान गरी राहत सामग्री पु¥याइएको छ ।
भदौ १६ गते थप १४ गाडी राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पठाइएको छ । सशस्त्र प्रहरीमार्फत पनि हेलिकप्टर उडान गरी राहत सामग्री ढुवानी भइरहेको छ । सरकारले नगद राहततर्फ रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। प्रभावित १५ पालिकालाई थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएकाे छ ।
प्रतिक्रिया