वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढीप्रभावितको राहतमा सहकारी बैंकको फरक मोडालिटी, सरकारी कोषसँगै कर्मचारी र सहकारी संस्थालाई पनि सहयोग

बाढीप्रभावितको राहतमा सहकारी बैंकको फरक मोडालिटी, सरकारी कोषसँगै कर्मचारी र सहकारी संस्थालाई पनि सहयोग
अर्थटुडे
२०८३ भाद्र १७, बुधबार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको राहतका लागि राष्ट्रिय सहकारी बैंकले परम्परागत शैलीभन्दा फरक मोडालिटी अपनाएको छ । बैंकले सरकारी राहत कोषमा मात्रै रकम दिने नभई विपद्मा प्रभावित आफ्ना कर्मचारी र क्षति बेहोरेका सहकारी संस्थालाई समेत प्रत्यक्ष सहयोग गर्ने निर्णय गरेको हो ।

रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भदौ १० गते आएको अप्रत्याशित बाढीबाट भएको क्षतिपछि बैंकले राहत तथा पुनःस्थापनाका लागि तीन तहमा सहयोग अघि बढाएको छ । बैंकले प्रकाशित गरेको विज्ञप्ती अनुसार बाढीबाट प्रभावित सहकारी संघसंस्थाको सेवा पुनःसञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि बैंकले २० लाख रुपैयाँ विनियोजन गरेको छ । बाढीका कारण सहकारी संस्थाका अभिलेख, प्रविधिगत सामग्री र भौतिक पूर्वाधारमा क्षति पुगेपछि सेवा प्रवाहमा समस्या देखिएको भन्दै बैंकले यस्तो निर्णय गरेको हो ।

उक्त रकम सम्बन्धित जिल्ला सहकारी संघहरूसँगको समन्वयमा तथा बैंकको सञ्चालक समितिले स्वीकृत गरेको मापदण्डअनुसार प्रभावित सहकारी संस्थालाई वितरण गरिनेछ ।

सरकारी कोषमा मात्रै होइन, आफ्नै कर्मचारीलाई पनि राहत
बैंकले संस्थागत सहयोगसँगै बाढीबाट प्रत्यक्ष प्रभावित आफ्ना कर्मचारीलाई समेत तत्काल राहत उपलब्ध गराएको छ । बाढीका कारण बैंकको नुवाकोट शाखामा कार्यरत तीन कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । केही कर्मचारीका आफन्तसमेत अझै सम्पर्कविहीन रहेको अवस्थामा बैंकका कर्मचारीहरूले स्वःस्फूर्त रूपमा ६ लाख ४ हजार ५३२ रुपैयाँ ६७ पैसा संकलन गरेका छन् ।

संकलित रकमबाट प्रभावित तीन कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत उपलब्ध गराइएको बैंकले जनाएको छ । त्यसैगरी, बैंकको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूले समेत एक दिन बराबरको बैठक भत्ता विपद् राहतमा योगदान गर्ने भएका छन् ।

प्रधानमन्त्री राहत कोषमा पनि सहयोग
सहकारी बैंकले सरकारी संयन्त्रमार्फत सञ्चालन हुने राहत अभियानलाई समेत सहयोग गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?