काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो अपडेटअनुसार विभिन्न जिल्लामा १ हजार २५२ जनाको शव फेला परेको छ भने अझै करिब ४ हजार २९६ जना सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ। हालसम्म सनाखत भई बुझिलिएको शवको संख्या भने ९५ रहेको छ।
सम्पर्कविहीन हुनेमा नेपाली सेना ४५ जना, नेपाल प्रहरी २५, सशस्त्र प्रहरी बल १३, भन्सार कार्यालयका १४ र अध्यागमन कार्यालयका ३ जना छन्। त्यस्तै रसुवाबाट करिब ८६५, नुवाकोटबाट करिब १ हजार ५५८, विदेशी नागरिक ५८३ तथा विदेशी पर्यटकसँग गएका १६४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। जलविद्युत् आयोजनाबाट मात्रै करिब ९०० जना सम्पर्कविहीन छन्।
बाढीबाट घाइते भएका ५ हजारभन्दा बढीको उपचार गरिएको छ। विभिन्न अस्पतालमा ३०९, नेपाली सेनामार्फत ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाले स्वास्थ्य उपचार पाएका छन्।
१२ हजारभन्दा बढीको उद्धार
बाढी प्रभावित क्षेत्रमा हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। नेपाली सेनाले हवाई उद्धारमार्फत विदेशी २७३ जना र नेपाली ४ हजार ९०१ जनाको उद्धार गरेको छ। नेपाली सेनाले हालसम्म ७१५ पटक हवाई उडान गरेको छ भने काठमाडौंका निजी क्षेत्रबाट १२९ पटक उडान भएको छ। उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ।
३ हजारभन्दा बढी होल्डिङ सेन्टरमा
बाढीबाट विस्थापित ३ हजार १४८ जना होल्डिङ सेन्टरमा रहेका छन्। नुवाकोटमा २ हजार १८१, धादिङमा २६०, रसुवामा ३२० र काठमाडौंमा ३८७ जना होल्डिङ सेन्टरमा रहेको प्राधिकरणको विवरण छ। राहत सामग्री पुर्याउन काठमाडौंंँबाट ४५ ट्रक र ३७ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। हेलिकप्टरबाट समेत ९ वटा उडान गरी राहत सामग्री पुर्याइएको छ। सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १३० हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरेको छ।
प्रभावित क्षेत्रमा इन्धन र सञ्चारमा पनि समस्या
प्रभावित क्षेत्रमा डिजेलको मौज्दात ४६ हजार लिटर, पेट्रोल २४ हजार लिटर र हवाई इन्धन २१ हजार लिटर रहेको विवरणमा उल्लेख छ।
सञ्चारतर्फ नेपाल टेलिकमका ११० टावरमा क्षति पुगेकोमा हाल सबै सञ्चालनमा आएका छन्। एनसेलका ७८ टावरमा क्षति पुगेकोमा ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्।
सरकारले १६ करोड नगद राहत उपलब्ध गरायो
बाढी प्रभावितका लागि नेपाल सरकारले रसुवा र नुवाकोटमा १–१ करोड रुपैयाँ, धादिङमा ५० लाख रुपैयाँ तथा प्रभावित १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। यसअनुसार तत्कालीन नगद राहत १६ करोड रुपैयाँ पुगेको छ। प्राधिकरणको विवरणअनुसार भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम जारी रहे पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको र मानवीय क्षतिको विवरण थपिन सक्ने अवस्था देखिएको छ।
प्रतिक्रिया