काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बजारमा अधिक तरलता कायम भएसँगै केन्द्रीय बैंकले निक्षेप बोलकबोल उपकरणमार्फत बजारबाट रकम उठाउन लागेको हो ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचना अनुसार भदौ २४ गते जारी हुने ५५ अर्ब रुपैयाँको साँवा तथा ब्याज भुक्तानी कात्तिक १८ गते हुनेछ । यसको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ ।
निक्षेप संकलनका लागि न्यूनतम १० करोड रुपैयाँदेखि १० करोड रुपैयाँले भाग जाने गरी बोल गर्न सकिने व्यवस्था गरिएको छ । बोलकबोल गर्दा सम्बन्धित संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउनेछन् । निक्षेप संकलन उपकरणको बोलकबोल ब्याजदरमा हुनेछ भने बहुबोलकबोलमा समेत सहभागी हुन सकिनेछ ।
बजारमा अधिक तरलता कायम भएसँगै राष्ट्र बैंकले ऋणपत्र, निक्षेप संकलन तथा स्थायी निक्षेप सुविधाबाट रकम उठाउँदै आएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा हालसम्म विभिन्न उपकरणमार्फत ३७ खर्ब ३५ अर्ब ७० करोड रुपैयाँ बजारबाट उठाइसकेको छ । जसमध्ये १३ खर्ब ३ अर्ब ६० करोड राष्ट्र बैंकमा नै थुप्रिएको छ ।
प्रतिक्रिया