काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सरकारले आह्वान गरेको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ संकलन भएको छ ।
प्रधानमन्त्री कार्यालयद्धारा जारी सूचना अनुसार कोषमा हालसम्म ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात पुगेको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो । सरकारको आह्वानपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा भएको हो ।
कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकमा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात रहेको छ । यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि भने कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिक तथा व्यवसायीको तत्काल राहत, पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका व्यक्ति, संघसंस्था तथा निजी क्षेत्रलाई सहयोग गर्न आह्वान गरेको थियो । त्यसपछि विभिन्न व्यक्ति, संघसंस्था तथा व्यावसायिक प्रतिष्ठानबाट प्राप्त सहयोग रकम कोषमा जम्मा हुँदै आएको हो ।
प्रतिक्रिया