वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नुवाकोटका सहकारीकर्मीको पीडा

बाढीले बगायो सहकारीको भवन र अभिलेख, अब कसरी फर्काउने सदस्यको विश्वास ?

बाढीले बगायो सहकारीको भवन र अभिलेख, अब कसरी फर्काउने सदस्यको विश्वास ?
अर्थटुडे
२०८३ भाद्र २५, बिहीबार

नुवाकोट । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका धेरै बस्तीलाई प्रभावित बनायो । बाढीले घर, व्यवसाय र भौतिक संरचना मात्र बगाएन, कैयौँ परिवारका सदस्य, सम्पत्ति र वर्षौंको मेहनतसमेत खोस्यो । त्यसको चोट नुवाकोटको सहकारी क्षेत्रमा पनि उत्तिकै गहिरो छ ।

बाढीबाट नुवाकोटका वेत्रावती, त्रिशुलीलगायतका क्षेत्रमा रहेका १५ वटा सहकारी संस्था पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सहकारीका भवनदेखि कागजात, पासबुक, चेकबुक, कम्प्युटर र अन्य सामग्री बाढीमा बगेका वा नष्ट भएका छन् । कतिपय संस्थाका सञ्चालक र सेयर सदस्यले ज्यान गुमाएका छन् भने कैयौँ अझै बेपत्ता छन् । तर, सहकारीकर्मीका लागि बाढीको पीडा यतिमै सकिएको छैन अब उनीहरूसामु अर्को ठूलो प्रश्न उभिएको छ—बगेको संस्था कसरी उठाउने र संकटमा परेका सदस्यको बचत तथा ऋणको हिसाब कसरी मिलाउने ?

‘भवन गयो, कागज गयो, अब डाटा कसरी निकाल्ने ?’
दक्षिणकाली साकोसका अध्यक्ष नविन्द्रमान प्रधानका लागि बाढीले संस्थाको भौतिक संरचना मात्रै होइन, वर्षौं लगाएर तयार गरिएको संस्थागत आधार नै खोसेको छ । संस्थाले खरिद गरेको भवनसमेत बाढीले बगाएपछि कागजात र अभिलेख जोगाउन नसकिएको उनी बताउँछन् । अहिले मुख्य चिन्ता हराएको डाटा कसरी रिकभर गर्ने र बैंकसँग कसरी समन्वय गर्ने भन्नेमा छ । त्यससँगै अर्को डर पनि छ—बाढीपीडित सदस्यले एकैपटक बचत फिर्ता मागे भने के गर्ने ?

प्रधानका अनुसार संस्थाका करिब १ हजार ५२० सदस्य बाढीबाट प्रभावित भएका छन् । घरबार गुमाएका सदस्यलाई तत्काल राहत दिन नसके पनि उनीहरूले जम्मा गरेको बचतबाट केही रकम फिर्ता गर्न सक्ने अवस्था बनाउने प्रयासमा संस्था छ । त्यसका लागि पहिलो आवश्यकता कार्यालय सञ्चालन गर्नु हो। जिल्ला सहकारी संघको भवनमा कोठा मागेर अस्थायी कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको छ । कार्यालय खुलेपछि सदस्यमा संस्थाप्रतिको विश्वास फर्काउन सकिने र क्रमशः वित्तीय कारोबारलाई व्यवस्थित गर्न सकिने उनको अपेक्षा छ।

 

सदस्य पीडामा, सहकारी आफैं संकटमा
श्रीकृष्ण साकोसका कोषाध्यक्ष गजेन्द्र खड्काका अनुसार अहिले क्षतिको यकिन विवरणसमेत संकलन भइसकेको छैन । कार्यालय सञ्चालन गन नसकिएको अवस्थामा रहेकाले संस्थाको वास्तविक अवस्था पत्ता लगाउन समय लागिरहेको छ । एकातिर सदस्यहरू संस्था बगाएपछि ‘अब आफ्नो पैसा पाइन्छ कि पाइँदैन?’ भन्ने चिन्तामा छन् । अर्कोतिर संस्थाहरू आफैं पुनः सञ्चालनको बाटो खोजिरहेका छन् । खड्काको अपेक्षा स्पष्ट छ—छिटोभन्दा छिटो नजिकका सहकारीहरू सञ्जालमा जोडिएर प्रभावित संस्थालाई सहयोग गरून् र सम्बन्धित निकायले पनि अवस्थालाई गम्भीर रूपमा हेरून् ।

बाढीले बगाएको धितो, कसरी उठाउने ऋण?
सहकारीको अर्को ठूलो समस्या कर्जा व्यवस्थापन हो । मातृभूमि बहुउद्देश्यीय सहकारीका ऋण उपसमितिका सदस्य अर्जुन कोइरालाका अनुसार त्रिशूली क्षेत्रमा सहकारीले लगानी गरेका धेरै कर्जाको धितो नै बाढीले बगाएको छ । ऋणीहरू आफैं विस्थापित भएका वा आर्थिक रूपमा शून्य अवस्थामा पुगेका कारण उनीहरूसँग सम्पर्क र कर्जा असुली दुवै कठिन बनेको छ । कैयौँ सेयर सदस्यसमेत बेपत्ता छन् ।

यसले सहकारीका लागि दोहोरो संकट सिर्जना गरेको छ। ऋण असुलीको सम्भावना कमजोर हुँदै गएको छ भने पीडित सदस्यबाट बचत फिर्ताको माग बढ्न सक्ने अवस्था छ । कोइरालाका अनुसार तत्काल संस्था सञ्चालनका लागि डेस्क, टेबल–कुर्सी, कम्प्युटर र प्रिन्टर जस्ता सामान्य सामग्रीसमेत आवश्यक छ । ती सामग्री उपलब्ध भए कम्तीमा सदस्यको विवरण संकलन, डाटा पुनःनिर्माण र अन्य आधारभूत काम सुरु गर्न सकिने उनी बताउँछन् ।

पहिले ‘कार्यालय’, त्यसपछि कारोबार
जिल्ला सहकारी संघ नुवाकोटले बाढीपछि पहिलो प्राथमिकता डाटा संकलन र अस्थायी कार्यालय सञ्चालनलाई दिएको छ । संघका व्यवस्थापक रविन्द्रमान श्रेष्ठका अनुसार पूर्ण रूपमा क्षति भएका १५ वटा संस्थालाई सहयोगका लागि समन्वयन गर्ने बताउँछन् ।

अहिले प्रत्येक संस्थाका लागि तत्काल एउटा कम्प्युटर वा ल्यापटप, प्रिन्टर, टेबल, कुर्सी र दराजजस्ता न्यूनतम सामग्री उपलब्ध गराउन माग गरिएको छ । यी सामग्री पाए संस्थाहरूलाई बिस्तारै पुनः सञ्चालनतर्फ लैजान सकिने अपेक्षा संघको छ ।

यो पुनःस्थापनाको पहिलो खुड्किलो हो। किनकि कार्यालय नै नभए सदस्यसँग सम्पर्क गर्ने, अभिलेख तयार गर्ने र संस्थाको वास्तविक अवस्था पहिचान गर्ने कामसमेत सम्भव छैन ।

सबै डाटा बगेका छैनन्, केही आशा अझै बाँकी छ
बाढीले सबै संस्थाको डिजिटल अभिलेख पूर्ण रूपमा नष्ट गरेको भने छैन । केही सहकारीको डाटा ब्याकअप वा क्लाउडमा सुरक्षित रहेको पाइएको छ ।
माता मनकामना साकोसका व्यवस्थापक किशोर अर्यालका अनुसार संस्थाका कागजपत्रलगायत अधिकांश सामग्री नष्ट भएका छन् । तर स्थानीय सफ्टवेयरमा रहेका डाटा र त्यसको रिकभरी कसरी गर्ने भन्ने विषयमा काम भइरहेको छ ।

ढुंगे बजार तथा त्रिशूली क्षेत्रका धेरै बचतकर्ता र ऋणी सदस्यको सम्पत्ति नष्ट भएकाले संस्थाका लागि समस्या अझ जटिल बनेको छ । जिल्ला सहकारी संघ, बचत संघ वा केन्द्रीय संघबाट कम्प्युटरलगायत प्राविधिक सहयोग पाए डाटा पुनःप्राप्तिको काम अघि बढाउन सकिने उनको अपेक्षा छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नारायण श्रेष्ठका अनुसार नुवाकोटमा पूर्ण रूपमा क्षति भएका १५ संस्थामध्ये ७ वटा बचत तथा ऋण सहकारी, ६ वटा बहुउद्देश्यीय र २ वटा कृषि सहकारी छन् ।

केही संस्थाको क्लाउडमा डाटा सुरक्षित रहेको, केहीको ब्याकअप सुरक्षित रहेको र केहीको ब्याकअपसमेत फेला नपरेको अवस्था छ । कतिपय संस्थाको नगद पनि भल्टमा सुरक्षित रहेको जानकारी आएको छ । अर्थात् सबै कुरा सकिएको छैन। जहाँ डाटा बाँकी छ, त्यहाँबाट पुनःनिर्माणको बाटो सुरु गर्न सकिन्छ । जहाँ डाटा छैन, त्यहाँ सदस्य, बैंक तथा अन्य स्रोतसँगको समन्वयबाट अभिलेख पुनःनिर्माण गर्नुपर्ने चुनौती छ ।

सदस्यलाई राहत मात्र होइन, ‘विश्वास’ चाहिएको छ

लायन साकोसका व्यवस्थापक ज्ञानेश्वर अमात्य संस्थाका सदस्यहरूले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका बताउँछन् । ६ जना सदस्यको मृत्यु र करिब ३५ जनाको घर पूर्ण रूपमा नष्ट भएको अवस्थामा सदस्यहरू तत्काल राहतको अपेक्षामा छन् । संस्थाले पनि तत्काल सामान्य अवस्थामा फर्किन सकेको छैन। त्यसैले अब के कसरी अगाडि बढ्ने भन्ने विषयमा सबै विवरण संकलन भइरहेको छ।

सहकारीकर्मीहरूको बुझाइमा अहिले सदस्यलाई केवल राहत रकम दिएर मात्रै पुग्दैन। उनीहरूलाई आफ्नो बचत सुरक्षित छ, संस्था फेरि सञ्चालन हुन्छ र संकटमा सहकारी उनीहरूको साथमा छ भन्ने विश्वास दिलाउन आवश्यक छ।

त्यसका लागि कार्यालय पुनः सञ्चालन, सदस्यको विवरण संकलन, डाटा रिकभरी, बचत तथा ऋणको अभिलेख पुनःनिर्माण र आवश्यक परेमा बचत फिर्ताको व्यवस्थापन गर्नुपर्नेछ ।

सहकारीभित्रैबाट ‘एकलाई परेको चोट अर्कोले मल्हम लगाउने’ अपेक्षा

बाढीपछि नुवाकोटका सहकारीकर्मीहरूको अर्को ठूलो अपेक्षा आफ्नै क्षेत्रका संघसंस्थासँग छ । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष श्रेष्ठले सहकारीको मूल्य, मान्यता र सिद्धान्त व्यवहारमै देखाउने समय यही भएको बताएका छन्। प्रभावित संस्थालाई अन्य सहकारी तथा संघहरूले आत्मीयता देखाउँदै सहयोग गर्नुपर्ने उनको अपेक्षा छ ।

उनले नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक र बागमती प्रदेशस्तरीय सहकारी निकायबाट विशेषगरी कर्जा व्यवस्थापन, बचत व्यवस्थापन, तरलता तथा प्राविधिक सहयोगको अपेक्षा गरेका छन् । बाढीमा ‘पहिला हिरो’ रहेका ऋणी तथा व्यवसायीहरू अहिले ‘जिरो’ अवस्थामा पुगेकाले उनीहरूलाई पुनः उभिन सहयोग नगरे कर्जा असुलीसमेत कठिन हुने उनको भनाइ छ ।

नेफ्स्कून भन्छ—प्राविधिक टोली खटाउन तयार छौं
प्रभावित सहकारीको समस्या सम्बोधनका लागि बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले प्राविधिक तथा मनोपरामर्श सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । बाढी प्रभावित क्षेत्रको भ्रमण तथा पिडित सहकारीकर्मीसँगको छलफलपछि नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रभावित संस्थाको पहिचान गरी सहभागी हुने संस्थाको संख्या र आवश्यक कार्यक्रमको अवधि निश्चित गरेपछि छोटो समयमै जनशक्ति व्यवस्थापन गर्न सकिने बताए । उनले बचत तथा ऋण व्यवस्थापन, कर्जा रिकभरी, तरलता व्यवस्थापनलगायत विषयमा प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । आवश्यक परे नेफ्स्कूनकै प्राविधिक कर्मचारी केही दिन प्रभावित क्षेत्रमा बसेर दैनिक काममा सहयोग गर्न सक्ने उनको भनाइ छ।

ढकालका अनुसार नेफ्स्कूनले प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ योगदान गरिसकेको छ । राहत कोषमा जम्मा भएको रकममध्ये रसुवा, नुवाकोट र धादिङजस्ता सहकारी क्षेत्र गम्भीर रूपमा प्रभावित भएका स्थानका ‘कोर समस्या’लाई प्राथमिकतामा राखेर खर्च गर्नुपर्ने विषयमा पनि पहल भइरहेको छ । यस्तै साकोसहरुको पुरुत्थानका लागि अन्तरर्राष्ट्रिय क्षेत्रको सहयोगका लागि समेत समन्वयन गरिरहेको उनले जानकारी दिए ।

पुनःस्थापनाको पहिलो चरण : एउटा ल्यापटपदेखि डाटा रिकभरीसम्म

अहिले नुवाकोटका प्रभावित सहकारीलाई ठूलो रकमभन्दा पनि केही आधारभूत सामग्री तत्काल आवश्यक देखिएको छ। कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेबल, कुर्सी र दराज उपलब्ध भए अस्थायी कार्यालय सञ्चालन गर्न सकिन्छ। त्यसपछि सदस्यको विवरण संकलन, हराएको अभिलेख पुनःनिर्माण, डाटा रिकभरी र बैंक खातासँग सम्बन्धित काम अघि बढाउन सकिन्छ।

त्यसपछि मात्र अर्को चरण सुरु हुनेछ—बचत व्यवस्थापन, ऋण पुनर्संरचना, धितोको अवस्थाको मूल्याङ्कन र सदस्यलाई संस्थाको भविष्यबारे विश्वस्त बनाउने । यससँगै मानवीय क्षति व्यहोरेका सञ्चालक तथा सदस्यका लागि मनोपरामर्श र तनाव व्यवस्थापन पनि उत्तिकै आवश्यक देखिएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?