काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजनादेखि बीमा र बैंकिङ क्षेत्रसम्मको वित्तीय जोखिम बढाएको छ । बाढीबाट प्रभावित दुई जलविद्युत् कम्पनीको ऋण रेटिङलाई ‘नकारात्मक प्रभावसहित निगरानी’ मा राख्दै क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बाढीको असर ऋण तिर्ने क्षमतासम्म पुग्न सक्ने विश्लेषण गरेको हो ।
इक्रा नेपालका अनुसार भदौ १० गते आएको बाढीबाट भोटेकोशी नदीको जलाधार क्षेत्रमा ठूलो क्षति भएको छ । रसुवा र नुवाकोट सबैभन्दा बढी प्रभावित भएका छन् भने धादिङमा पनि क्षति भएको छ । बाढीले करीब २० वटा मोटरेबल पुल बगाउनुका साथै ७० देखि ८० किलोमिटर सडकमा ठूलो क्षति पु¥याएको इक्राको प्रतिवेदनमा उल्लेख छ । त्रिशूली–३ बी हबको २२० केभी सबस्टेसनसहित प्रसारण तथा वितरण संरचनामा समेत ठूलो क्षति पुगेको छ । यसले जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निकासीमा मात्र नभई आगामी सुख्खायाममा राजधानीको विद्युत् आपूर्तिमा समेत दबाब पर्न सक्ने इक्राको आकलन छ ।
बाढीबाट प्रभावित क्षेत्रमा मुख्य आर्थिक गतिविधि जलविद्युत् आयोजना र चीनसँगको व्यापारमा निर्भर रहेकाले यसको असर बहुआयामिक हुने देखिएको छ । इक्राका अनुसार १४ जलविद्युत् तथा सौर्य आयोजनामा ठूलो क्षति पुगेको छ, जसको कुल जडित क्षमता करीब ७०० मेगावाट छ । त्यसमध्ये करीब ३०० मेगावाटका आयोजना सञ्चालनमा रहेका थिए भने बाँकी निर्माणाधीन थिए ।
८२ अर्बभन्दा बढीको ऋण रेटिङ निगरानीमा
बाढीबाट सबैभन्दा प्रत्यक्ष वित्तीय जोखिममा परेको कम्पनीमध्ये त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको ८ अर्ब २० करोड १० लाख रुपैयाँ बराबरको ऋण रेटिङलाई इक्राले निगरानीमा राखेको छ ।
कम्पनीले निर्माण गरिरहेको ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजना, त्रिशूली–३ बी हब २२० केभी सबस्टेसन तथा माथिल्लो त्रिशूली–३ ए आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको इक्राले जनाएको छ । क्षतिको पूर्ण मूल्यांकन हुन बाँकी रहेकाले आयोजना पुनर्निर्माणमा लाग्ने समय, बीमाबाट हुने क्षतिपूर्ति र त्यसबीच कम्पनीले ऋण दायित्व कसरी व्यवस्थापन गर्छ भन्ने विषयलाई रेटिङको प्रमुख आधार बनाइएको छ ।
त्यस्तै, मल्टी इनर्जी डेभलपमेन्ट प्रालिको ३ अर्ब ८८ करोड २० लाख रुपैयाँ बराबरको ऋण पनि निगरानीमा परेको छ । रसुवामा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीले मुख्य संरचनामा क्षति पु¥याएको र आयोजनाका करीब १०० कामदार तथा कर्मचारी बेपत्ता रहेको इक्राको प्रारम्भिक मूल्यांकनमा उल्लेख छ ।
लाङटाङ खोला आयोजना बाढी आउनुअघि कमिसनिङको चरणमा पुगेको थियो । त्यसैले पुनर्निर्माणले विद्युत् उत्पादन सुरु हुने समय लम्ब्याउनुका साथै बीमाले नसमेटेको क्षति र पुनःस्थापनाका क्रममा थपिने ब्याजका कारण आयोजनाको लागत बढ्न सक्ने जोखिम इक्राले औंल्याएको छ ।
त्रिशूली जलविद्युत् कम्पनीको आयोजनाको लागत पछिल्लो समय ११ अर्ब ४६ करोड ६० लाख रुपैयाँ पुगेको थियो भने ऋण–पुँजी अनुपात करीब ७०ः३० तय गरिएको थियो । कम्पनीको करिब २८ प्रतिशत आवश्यक इक्विटी अझै जुटाउन बाँकी रहेको इक्राको प्रतिवेदनमा उल्लेख छ । यसले बाढीपछिको पुनर्निर्माणका लागि थप पूँजी व्यवस्थापनको विषयलाई समेत महत्वपूर्ण बनाएको छ ।
बीमाबाट राहत, तर बैंकको कर्जा जोखिम कायमै
बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको भौतिक क्षतिको ठूलो हिस्सा बीमाबाट असुल हुने अपेक्षा इक्राको छ । सञ्चालनमा रहेका आयोजनाको भौतिक संरचनाको क्षतिका अतिरिक्त छ महिनासम्मको आम्दानी गुमेको रकमसमेत बीमाले समेट्ने व्यवस्था रहेकाले आयोजनाको वित्तीय क्षति केही हदसम्म सीमित हुन सक्ने इक्राले जनाएको छ । ठूला आयोजनाले पुनर्बीमा कम्पनीमार्फत ‘फ्याकल्टेटिभ’ कभर लिने भएकाले एउटै बीमा कम्पनीमा पर्ने जोखिम पनि विभाजन हुने अपेक्षा गरिएको छ ।
तर वास्तविक दाबी रकम, बीमा कम्पनीले अन्ततः भुक्तानी गर्ने रकम र आयोजनाले आफैं व्यहोर्नुपर्ने ‘रेटेन्सन’ स्पष्ट भइसकेको छैन । त्यसैले पुनर्निर्माण लागतको कति हिस्सा बीमाबाट असुल हुन्छ भन्ने विषय जलविद्युत् कम्पनीको रेटिङका लागि महत्वपूर्ण बन्नेछ । त्रिशूली जलविद्युत् र मल्टी इनर्जीका हकमा पनि इक्राले पुनर्निर्माण लागत, बीमा असुली, थप वित्तीय स्रोत र ऋण पुनर्संरचनालाई मुख्य निगरानीका विषय बनाएको छ ।
बाढीको असर बीमा क्षेत्रमा समेत देखिन थालेको छ । इक्राले नेपाल पुनर्बीमा कम्पनीको रेटिङ घटाउँदै नकारात्मक प्रभावसहितको निगरानीलाई निरन्तरता दिएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सलाई ‘डेभलपिङ इम्प्लिकेसन’ सहित निगरानीमा राखिएको छ भने सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर, एनएलजी, हिमालयन एभरेस्ट र युनाइटेड अजोड इन्स्योरेन्सलाई नकारात्मक प्रभावसहित निगरानीमा राखिएको छ ।
नेपाल पुनर्बीमाको हकमा यसअघि नै २०८२ सालको दंगासँग सम्बन्धित दाबीमा ठूलो रेटेन्सनका कारण पूँजीकरणमा दबाब रहेकाले नयाँ विपद्को क्षतिले पूँजीकरणमा थप असर पार्न सक्ने इक्राको विश्लेषण छ ।
बैंकिङ क्षेत्रमा पनि बाढीको असर सम्पत्तिको गुणस्तरमा पर्न सक्ने इक्राले जनाएको छ । विशेषगरी बाढी प्रभावित जलाधारमा रहेका खुद्रा, साना तथा मझौला व्यवसाय र पर्यटनसँग सम्बन्धित ऋणीको व्यवसायमा ठूलो असर परेकाले बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) बढ्न सक्ने जोखिम औंल्याइएको छ । यद्यपि प्रभावित क्षेत्र तीन जिल्लामा केन्द्रित रहेकाले समग्र बैंकिङ क्षेत्रको वित्तीय असर तत्काल ठूलो नहुने इक्राको निष्कर्ष छ ।
बाढीबाट प्रभावित ऋणीलाई राष्ट्र बैंकले ऋण पुनर्तालिकीकरण तथा पुनर्संरचनाको सुविधा दिने अपेक्षा रहेकाले बैंकिङ क्षेत्रको तत्कालीन जोखिम केही कम हुने इक्राको आकलन छ । जलविद्युत् आयोजनाको ऋणमा बीमा कभर र सञ्चालनमा रहेका आयोजनाको छ महिनासम्मको आम्दानी क्षतिको बीमा हुने भएकाले त्यसले पनि बैंकको कर्जा जोखिमलाई केही सीमित गर्ने अपेक्षा गरिएको छ ।
यता बाढीले चीनतर्फको ग्यिरोङ नाका र तातोपानी क्षेत्रको व्यापारिक आवागमनमा समेत असर पारेकाले आयातमा आधारित व्यवसायको लागत बढ्न सक्ने इक्राले जनाएको छ । सडक र नाका अवरुद्ध हुँदा समुद्री मार्गबाट सामान ल्याउनुपर्ने अवस्था आएमा लागत बढ्ने भए पनि त्यसको ठूलो हिस्सा अन्ततः उपभोक्तामा हस्तान्तरण हुने अनुमान गरिएको छ ।
यसरी हेर्दा भोटेकोशी बाढीको क्षति तत्काल देखिने भौतिक संरचनामा मात्र सीमित छैन । क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणमा लाग्ने समय, बीमा दाबीको वास्तविक असुली, थप पूँजीको आवश्यकता, ऋण पुनर्संरचना र विद्युत् उत्पादनमा हुने ढिलाइले जलविद्युत् कम्पनीको ऋण तिर्ने क्षमतामा असर पार्ने भएकाले त्यसको प्रभाव क्रमशः बीमा कम्पनी हुँदै बैंकिङ क्षेत्रको कर्जा गुणस्तरसम्म पुग्ने जोखिम इक्राको विश्लेषणले देखाएको छ ।
प्रतिक्रिया