काठमाडौं । नेपालमा घरजग्गा कारोबारको गतिविधि एक वर्षमै तीव्र रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा देशभर घरजग्गा कारोबारबाट ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ रहेको थियो।
नेपाल राष्ट्र बैंकको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थितिसम्बन्धी प्रतिवेदनअनुसार एक वर्षको अवधिमा घरजग्गा कारोबारको कुल रकम करिब दोब्बर भएको हो। प्रतिवेदनले समीक्षा अवधिमा घरजग्गा बजारमा कारोबार संख्या, कारोबार भएको क्षेत्रफल र कुल कारोबार रकमलगायतका सूचकमा उल्लेख्य वृद्धि देखाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारको कुल संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो। यस्तै, समीक्षा अवधिमा लिखत पारितअन्तर्गतको कारोबार संख्या १२.२८ प्रतिशतले र लिखत पारितअन्तर्गतको राजीनामा कारोबार संख्या २२.८८ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।
घरजग्गा कारोबार भएको कुल क्षेत्रफलसमेत १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो। कारोबारको क्षेत्रफल बढ्नुले घरजग्गा बजारमा वास्तविक कारोबार गतिविधि विस्तार भएको संकेत गरेको छ।
बागमतीमा सबैभन्दा ठूलो वृद्धि
प्रदेशगत रूपमा घरजग्गा कारोबारको गतिविधि सबैभन्दा धेरै बागमती प्रदेशमा बढेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या ६९.३८ प्रतिशतले बढेको छ। यसको विपरीत मधेश प्रदेशमा यस्तो कारोबार संख्या ३.४४ प्रतिशतले घटेको छ। अन्य प्रदेशमा भने कारोबार संख्या बढेको छ।
कारोबार भएको कुल क्षेत्रफलको वृद्धिमा पनि बागमती प्रदेश अगाडि देखिएको छ। समीक्षा अवधिमा बागमतीमा कारोबार भएको कुल क्षेत्रफल ५९.२४ प्रतिशतले बढेको छ। मधेश प्रदेशमा भने यस्तो क्षेत्रफल ६.१९ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ। सातवटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। बागमती प्रदेशमा कुल कारोबार मूल्य १७५.३३ प्रतिशतले बढ्दा मधेश प्रदेशमा वृद्धि दर सबैभन्दा कम ३१.९८ प्रतिशत रहेको छ।
काठमाडौं उपत्यकामा कारोबारको उछाल
महानगरपालिकामध्ये काठमाडौंमा घरजग्गा कारोबारको संख्या सबैभन्दा धेरै बढेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ। त्यसपछि ललितपुर महानगरपालिकामा १३६.९२ प्रतिशत, पोखरा महानगरपालिकामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगन्जमा २९.१९ प्रतिशत वृद्धि भएको छ।
महानगरपालिकामध्ये कारोबारको कुल मूल्यमा पनि काठमाडौं सबैभन्दा अगाडि देखिएको छ। समीक्षा अवधिमा काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१७.४० प्रतिशतले बढेको छ।
यससँगै घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा, आवासीय घरजग्गा कर्जासहित, ६.९३ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा वृद्धि ५.८६ प्रतिशत थियो।
घरजग्गा कारोबार बढेसँगै सरकारको राजस्व संकलनमा समेत वृद्धि भएको छ। समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व ४८.२६ प्रतिशतले बढेको छ। यस्तै, पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ।
समग्र तथ्यांकले आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा बजारमा कारोबारको संख्या मात्र नभई कारोबारको क्षेत्रफल, कुल कारोबार रकम, बैंक कर्जा र सरकारको राजस्वसमेत बढेको देखाएको छ। विशेषगरी बागमती र काठमाडौंमा देखिएको तीव्र वृद्धिले घरजग्गा बजारमा पुनः गतिविधि बढ्दै गएको संकेत गरेको छ।
प्रतिक्रिया