वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढीपीडित सहकर्मीलाई सहकारी बैंकका कर्मचारीको सहयोग

बाढीपीडित सहकर्मीलाई सहकारी बैंकका कर्मचारीको सहयोग
अर्थटुडे
२०८३ भाद्र ३१, बुधबार

ललितपुर । रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित राष्ट्रिय सहकारी बैंक लिमिटेडका तीन जना कर्मचारीलाई बैंकका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् । बाढीबाट प्रभावित बैंकको नुवाकोट शाखामा कार्यरत सुजन दाहाल, सागरिका पौडेल र नमराज पुडासैनीलाई बैंकका कर्मचारीहरूले स्वतःस्फूर्त रूपमा सङ्कलन गरेको रकमबाट जनही १ लाख ५० हजार रुपैयाँका दरले कुल ४ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरिएको हो ।
प्रभावित कर्मचारीलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सुरुमा जनही ५० हजार रुपैयाँ र त्यसपछि थप १ लाख रुपैयाँ गरी प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ ।

सहयोग रकम बराबरको चेक बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले प्रभावित कर्मचारीहरूको घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।

बाढीका कारण तीनै जना कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको थियो। विपद्का कारण उनीहरू प्रत्यक्ष प्रभावित हुनुका साथै केही कर्मचारीका आफन्तसमेत सम्पर्कविहीन रहेको अवस्थामा बैंकका कर्मचारीहरूले सहकर्मीलाई राहत उपलब्ध गराउन स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग सङ्कलन गरेका थिए।

बैंकका कर्मचारीबाट कुल ६ लाख ४ हजार ५३२ रुपैयाँ ६७ पैसा सङ्कलन भएको थियो । सङ्कलित रकममध्ये ४ लाख ५० हजार रुपैयाँ तीन जना प्रभावित कर्मचारीलाई हस्तान्तरण गरिएको र बाँकी १ लाख ५४ हजार ५३२ रुपैयाँ ६७ पैसा आवश्यकताअनुसार राहत तथा सहयोगका कार्यमा प्रयोग गरिने बैंकको मानव संसाधन विभागका प्रमुख सविना बस्नेतले जानकारी दिइन् ।

बैंकले सरकारी संयन्त्रमार्फत सञ्चालन गरिएको राहत अभियानमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै, बैंकका सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूले समेत एक दिनको बैठक भत्ता बराबरको रकम सहयोग गरेका थिए ।

भोटेकोशी बाढीबाट प्रभावित सहकारी संघ संस्थाको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनः स्थापनाका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २० लाख रुपैयाँसमेत विनियोजन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?