वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चौधरी–बिवाइडी भेटपछि अटो क्षेत्रमा तरंग, के चौधरीले खोस्न लागेका हुन् बिवाइडीको साझेदारी ?

चौधरी–बिवाइडी भेटपछि अटो क्षेत्रमा तरंग, के चौधरीले खोस्न लागेका हुन् बिवाइडीको साझेदारी ?
अर्थटुडे
२०८३ भाद्र ३१, बुधबार

काठमाडौं । उद्योगपति विनोद चौधरीले मंगलबार बिवाइडीका संस्थापक तथा अध्यक्ष वाङ चुआनफुसँग भेट गरेको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि नेपालको अटोमोबाइल क्षेत्रमा त्यसको चर्चा चुलिएको छ।

चौधरीले फेसबुकमा भेटको तस्बिर तथा भिडियो सार्वजनिक गर्दै लेखेका थिए, ‘विश्वकै महत्वपूर्ण प्रविधि र यातायात कम्पनीलाई नेतृत्व गरिरहेका उहाँसँग विचार आदानप्रदान गर्न पाउनु निकै प्रेरणादायी रह्यो।’

चौधरीको उक्त पोस्ट सार्वजनिक भएसँगै नेपालमा बिवाइडीको आधिकारिक वितरण अधिकार चौधरी समूहले लिन लागेको हो कि भन्ने चर्चा अटो बजारमा सुरु भएको थियो। विशेषगरी चौधरी समूहको बिवाइडीसँग अन्य मुलुकमा रहेको व्यावसायिक सम्बन्ध र नेपालमा बिवाइडीको बजार विस्तारलाई लिएर यस्तो चासो बढेको हो।

चौधरीले यसअघि पनि बिवाइडीको ब्रान्ड नेपालमा बिक्री गर्ने आफ्नो इच्छा रहेको बताउँदै आएका थिए। तर, नेपालमा बिवाइडीको आधिकारिक वितरकका रूपमा सिमेक्स इंक प्रालिले करिब एक दशकदेखि काम गरिरहेको छ। बिवाइडीले नेपालमा नयाँ साझेदार थप्ने वा विद्यमान वितरण व्यवस्थामा परिवर्तन गर्ने विषयमा सार्वजनिक रूपमा कुनै निर्णय गरेको छैन।

यहीबीच चौधरीको पोस्टपछि बिवाइडीका एसिया–प्यासिफिक क्षेत्र हेर्ने वरिष्ठ कार्यकारी केत्सु झाङले सामाजिक सञ्जालमार्फत बिवाइडी र सिमेक्सबीचको साझेदारीप्रति आफ्नो धारणा सार्वजनिक गरेका छन्।

झाङले बिवाइडी र सिमेक्सबीच विगत १० वर्षमा विकसित भएको सहकार्यप्रति आफूहरू विश्वस्त र प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। उनले नेपालमा थप उत्पादन तथा प्रविधि भित्र्याउन बिवाइडी र सिमेक्सले मिलेर काम गर्ने बताएका छन्।

झाङको अभिव्यक्तिमा नेपालमा बिवाइडीको भविष्यको योजनासँगै सिमेक्ससँगको सम्बन्धलाई विशेष प्राथमिकता दिइएको छ। उनले बिवाइडी आफ्ना साझेदार र ग्राहकप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै सिमेक्ससँगको सहकार्यमा नेपालमा थप उत्पादन तथा प्रविधि ल्याउने बताएका छन्।

विदेशमा चौधरी समूह र बिवाइडीको सहकार्य

चौधरी समूह र बिवाइडीबीच नेपालबाहेक अन्य मुलुकमा भने व्यावसायिक सम्बन्ध रहेको छ। चौधरी समूहले बंगलादेश, श्रीलंका र स्लोभेनियामा बिवाइडीका सवारीसाधनको वितरण गर्दै आएको छ। समूहले बेलायतलगायत अन्य बजारमा समेत आफ्नो सहकार्य विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।

बिवाइडीसँग चौधरी समूहको विभिन्न मुलुकमा बढ्दो व्यावसायिक सम्बन्धका कारण नेपालमा पनि सहकार्य विस्तार हुन सक्ने अनुमान बजारमा गरिएको थियो। तर, नेपालमा बिवाइडीको वितरण व्यवसायसम्बन्धी चौधरी समूह र बिवाइडीको शीर्ष नेतृत्वबीच भएको भेटमा के विषयमा छलफल भयो भन्नेबारे सार्वजनिक रूपमा विस्तृत जानकारी आएको छैन।

नेपालमा सिमेक्ससँगको साझेदारी कायमै रहने बिवाइडीकाे स्पष्टीकरण

नेपालमा बिवाइडीको आधिकारिक वितरकका रूपमा सिमेक्स इंक रहेको छ। सिमेक्सले करिब एक दशकदेखि नेपालमा बिवाइडीका विद्युतीय सवारीसाधन बिक्री तथा वितरण गर्दै आएको छ।

नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तारसँगै बिवाइडी प्रमुख ब्रान्डमध्ये एकका रूपमा स्थापित भएको छ। यही कारण बिवाइडीको नेपालस्थित वितरण अधिकारलाई लिएर हुने कुनै पनि सम्भावित परिवर्तनले अटो बजारमा प्रत्यक्ष चासो उत्पन्न गर्ने गरेको छ।

चौधरी समूह र बिवाइडीको शीर्ष नेतृत्वबीच भएको भेटपछि नेपालमा सहकार्य विस्तार हुन सक्ने विषयमा बजारमा चासो बढे पनि हालसम्म उपलब्ध सार्वजनिक सूचनाले नेपालमा बिवाइडीको आधिकारिक वितरण अधिकार चौधरी समूहले लिन लागेको पुष्टि गर्दैन।

त्यस्तै, चौधरी समूहले नेपालमा बिवाइडीको वितरण अधिकार मागेको वा बिवाइडीले सिमेक्ससँगको वर्तमान व्यवस्था पुनरवलोकन गर्न लागेको भन्नेबारे पनि दुवै पक्षबाट कुनै औपचारिक जानकारी सार्वजनिक भएको छैन।

बरु बिवाइडीका वरिष्ठ कार्यकारी झाङको पछिल्लो सार्वजनिक अभिव्यक्तिले नेपालमा सिमेक्ससँगको विद्यमान साझेदारीलाई निरन्तरता दिने र सोही साझेदारीमार्फत उत्पादन तथा प्रविधिको क्षेत्रमा थप काम गर्ने संकेत गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?