वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सडक बिग्रिएको गुनासो अब एपबाटै, मर्मतको अवस्था पनि हेर्न सकिने

सडक बिग्रिएको गुनासो अब एपबाटै, मर्मतको अवस्था पनि हेर्न सकिने
अर्थटुडे
२०८३ आश्विन १, बिहीबार

काठमाडौं । काठमाडौं उपत्यकाभित्र संघीय सडक बिग्रिएर हैरानी खेप्दै आएका नागरिकले अब सडक मर्मतसम्बन्धी गुनासो तथा सुझाव मोबाइल एपबाटै दर्ता गर्न सक्ने भएका छन्। सडक डिभिजन काठमाडौंले परीक्षण सफल भएपछि ‘सडक सुझाव एप’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

एपमार्फत नागरिकले बिग्रिएको सडकको विवरणसहित गुनासो दर्ता गर्न सक्नेछन्। दर्ता भएको गुनासोमाथि भइरहेको कामको अवस्था पनि एपबाटै हेर्न सकिने व्यवस्था गरिएको छ। गुनासो सम्बोधन भएपछि त्यसको जानकारीसमेत सम्बन्धित नागरिकले एपमार्फत प्राप्त गर्नेछन्।

४७२ किलोमिटर सडक एपको दायरामा

हाल एपबाट काठमाडौं उपत्यकाभित्र संघीय सडकअन्तर्गत रहेका करीब ४ सय ७२ किलोमिटर सडकसँग सम्बन्धित गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। यसले सडकको अवस्था, मर्मतको आवश्यकता र नागरिकका गुनासोलाई व्यवस्थित रूपमा अभिलेख गर्ने आधारसमेत तयार गर्ने सडक डिभिजन काठमाडौंको भनाइ छ।

संघीय सडकअन्तर्गत नपर्ने सडकका सम्बन्धमा पनि एपले उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारी नागरिकलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसबाट गुनासो गलत निकायमा पुग्ने समस्या कम हुने अपेक्षा गरिएको छ।

ललितपुर र भक्तपुर हुँदै देशभर विस्तार

सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले एपलाई क्रमशः देशभर विस्तार गर्ने तयारी गरिएको छ। आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई समेत एपमा समावेश गर्ने र त्यसपछि अन्य क्षेत्रमा विस्तार गर्दै लैजाने सडक डिभिजन काठमाडौंले जनाएको छ।

एप देशव्यापी रूपमा सञ्चालनमा आएपछि सडकको अवस्था र मर्मतसम्बन्धी नागरिकका गुनासोलाई डिजिटल माध्यमबाट संकलन, वर्गीकरण र सम्बोधन गर्ने प्रणाली विकास हुने अपेक्षा गरिएको छ। यसले सडक मर्मतमा नागरिकको प्रत्यक्ष सहभागिता बढाउनुका साथै गुनासो सम्बोधनको अवस्थाबारे सार्वजनिक जवाफदेहिता बढाउने आधारसमेत तयार गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?