काठमाडौं । ‘हे भगवान्, अब उप्रान्त मेरो देश नेपालमा फेरि त्यस्तो कहिल्यै नहोस् ।’ एक वर्षअघि आन्दोलनको निशानामा परेको भाटभटेनी स्टोर यही प्रार्थनासहित पुननिर्माणमा सक्रिय भयो । सोमबारबाट यही भाटभटेनीको पहिलो शाखा अर्थात जहाँबाट स्टोरको सुरुवात भयो, फेरि सञ्चालनमा आउने भएको छ ।
२०८२ साल भदौ २४ गतेको आन्दोलनका क्रममा देशभर सञ्चालनमा रहेका भाटभटेनीका २७ स्टोरमध्ये २१ वटा आक्रमणको निशानामा परे । कतिपय स्टोरमा सामान्य क्षति भयो, तर १२ वटा स्टोरमा भने संरचना, पूर्वाधार र स्टोरभित्रका सामान तथा इन्भेन्टरीमा गम्भीर क्षति पुग्यो । व्यवसायका लागि बनाइएका भवनहरू एकै दिनमा क्षतिग्रस्त भए। करोडौँ रुपैयाँ बराबरका सामान नष्ट भए। संरचना भत्किए । कतिपय ठाउँमा स्टोरको पहिचानसमेत मेटिएको जस्तो देखिन्थ्यो ।
एउटा–एउटा गर्दै फर्कियो भाटभटेनी
आगजनीबाट ध्वस्त भएका १२ स्टोरमध्ये क्रमशः पुनर्निर्माण गर्दै अहिलेसम्म १० वटा स्टोर पुनः सञ्चालनमा ल्याइसकिएको छ । पूर्णरूपमा जलेका स्टोर पुनःनिर्माण गर्नु सजिलो थिएन । समय लाग्थ्यो, ठूलो लगानी लाग्थ्यो र संरचना पुनःनिर्माणसँगै उपकरण, आन्तरिक सजावट, विद्युत् प्रणाली तथा अन्य प्राविधिक संरचना पनि नयाँ बनाउनुपर्ने थियो।
आगजनी भएको पाँच महिनामै पूर्णरूपमा जलेको कोटेश्वरस्थित स्टोर पुनः सञ्चालनमा ल्याइयो । एकपछि अर्को गर्दै स्टोरहरू फर्किन थाले । अहिले बाँकी दुई स्टोर पनि पुनःनिर्माणको अन्तिम चरणमा छन् । दमक र हेटौँडामा संरचनागत काम, उपकरण व्यवस्थापन तथा आन्तरिक निर्माण जारी रहेकाे कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु दत्त पौडेल बताउछन्।
‘टिमको निरन्तर मेहनत र प्रतिबद्धताको परिणाम’
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पौडेलका अनुसार यति ठूलो क्षति एक वर्षभित्र पुनर्निर्माण गरेर स्टोरहरू सञ्चालनमा ल्याउन सकिनु व्यवस्थापनको मात्र प्रयास होइन । यो सम्पूर्ण टिमको निरन्तर मेहनत, समर्पण र प्रतिबद्धताको परिणाम हो ।
‘एकपछि अर्को गर्दै स्टोरहरू सञ्चालनमा ल्याउन सक्नु टिमवर्क र टिम कमिटमेन्टको परिणाम हो,’ पौडेलले भने । उनका अनुसार जहाँ क्षति धेरै थियो, त्यहाँ संरचना पुनर्निर्माण गरियो । जहाँ सामान नष्ट भएका थिए, त्यहाँ नयाँ इन्भेन्टरी व्यवस्थापन गरियो । उपकरण, विद्युत् प्रणाली, आन्तरिक सजावटदेखि ग्राहकका लागि आवश्यक पूर्वाधारसम्म पुनः तयार गरिएको छ ।
२०४१ सालमा सुरु भएको यात्रा, अब ‘फ्ल्यागसिप’मा रूपान्तरण
टंगालको स्टोर भाटभटेनीको इतिहाससँग जोडिएको छ । भाटभटेनीले आफ्नो यात्रा सुरु गरेको पहिलो स्टोर यही हो । त्यसैले अहिले पुनर्निर्माण भइरहेको टंगाल स्टोरलाई कम्पनीले आफ्नो ‘फ्ल्यागसिप स्टोर’ का रूपमा विकास गरिरहेको छ। फ्ल्यागसिप स्टोर भनेको कम्पनीको सामान्य शाखाभन्दा फरक पहिचान र अनुभव दिने मुख्य स्टोर हो। भाटभटेनीको टंगाल स्टोरमा अब विविधता, उत्पादनको दायरा, आधुनिक डिजाइन, ग्राहक अनुभव र पार्किङ सुविधालाई विशेष प्राथमिकता दिइएको छ।
करिब २२ हजार वर्गफिटको सपिङ एरिया, पाँचतले पार्किङ तथा आधुनिक पूर्वाधारसहितको यो स्टोर कम्पनीको उच्च राजस्व सिर्जना गर्ने स्टोरमध्ये एक बन्ने लक्ष्यसहित पुनर्निर्माण अन्तिम चरणमा रहेको सिइओ पौडेलले जानकारी दिए ।
यसको अर्थ टंगालमा पुरानो भाटभटेनी फर्किंदैछ, तर पुरानै स्वरूपमा होइन । महँगा सामान किन्ने ग्राहकदेखि दैनिक उपभोग्य वस्तु किन्ने ग्राहकसम्म
फ्ल्यागसिप स्टोर भनेर महँगा सामान मात्र बिक्री गर्ने ठाउँ बनाउनु भाटभटेनीको उद्देश्य होइन। भाटभटेनीको मूल्य दर्शन भनेको ग्राहकको आम्दानी र आर्थिक हैसियत जस्तोसुकै भए पनि आवश्यक वस्तु र सेवा सहज रूपमा उपलब्ध गराउनु रहेको र त्यसै अनुसार उच्च मूल्यका उत्पादनदेखि दैनिक उपभोग्य वस्तुसम्म एउटै छानामुनि उपलब्ध गराउने संरचना तयार पारिएको पौडेलले जानकारी दिए ।
प्रतिक्रिया