काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज सोमबारको नियमित सेयर कारोबार स्थगित गरेको छ ।
नेप्सेका अनुसार ७२ कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो । समस्या समाधानका लागि पहल भइरहेको भए पनि हालसम्म समाधान हुन नसकेपछि आजको कारोबार स्थगित गरिएको हो ।
यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आजको कारोबार स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो ।
सोही निवेदन तथा प्राविधिक अवस्थालाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम आज २०८३ असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको जनाएको छ ।
प्रतिक्रिया