वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारको कमजोर प्राविधिक पूर्वाधार : ‘र्यान्समवेयर’ आक्रमणपछि किन बन्द भयो कारोबार ?

सेयर बजारको कमजोर प्राविधिक पूर्वाधार : ‘र्यान्समवेयर’ आक्रमणपछि किन बन्द भयो कारोबार ?
अर्थटुडे
२०८३ आश्विन ५, सोमबार

काठमाडौं । नेपालको सेयर बजारको प्राविधिक पूर्वाधार कति संवेदनशील अवस्थामा छ भन्ने प्रश्न फेरि उठेको छ । ब्रोकर कम्पनीका कारोबार प्रणाली सञ्चालन हुने डाटा सेन्टरमा र्यान्समवेयर आक्रमण (फिरौती माग्ने साइवर हमला) भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार असोज ५ गतेको नियमित कारोबार नै स्थगित गरेको छ ।

वाईको प्रालिले स्टक ब्रोकर एसोसिएसन अफ नेपाललाई पठाएकोे पत्रमा उसको डाटा सेन्टर सेवा प्रदायक डेटा हब प्रा.ली मा भइरहेको र्यान्समवेयर घटनाले टिएमएस, सीडीएससीसम्बन्धित प्रणाली, पेमेन्ट गेटवे तथा अन्य अन्तरसम्बन्धित सेवाहरू प्रभावित भएको उल्लेख गरेको छ । प्रभावित प्रणालीलाई सुरक्षा सावधानीका रूपमा आइसोलेसनमा राखिएको र घटनाको पूर्ण असर मूल्यांकन भइरहेको पत्रमा भनिएको छ ।

घटना ब्रोकरको कम्प्युटर प्रणालीमा समस्या आएको होइन, नेपालको सेयर कारोबार प्रणालीमा एउटा महत्वपूर्ण प्राविधिक निर्भरता कहाँ छ भन्ने प्रश्न पनि सतहमा ल्याएको छ ।

७२ ब्रोकरको प्रणाली एउटै डाटा सेन्टरमा
नेप्सेका अनुसार डेटा हबमा ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेका छन्। असोज ४ गते बिहानदेखि आएको समस्या २४ घण्टाभन्दा बढी समयसम्म समाधान नभएपछि सोमबारको कारोबार सञ्चालन गर्न नसकिएको हो ।

यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको आफ्नै कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि स्टक ब्रोकर एसोसिएसनले कारोबार स्थगन गर्न आग्रह गरेको थियो । सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) अनुसार कारोबार स्थगित गरेको जनाएको छ।

एउटा डाटा सेन्टरमा समस्या, पूरै बजार प्रभावित
यो घटनाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ब्रोकरहरूको कारोबार पूर्वाधारमा रहेको केन्द्रीकृत निर्भरता हो । ७२ वटा ब्रोकरको प्रणाली एउटै डाटा सेन्टरमा होस्ट गरिएकाले उक्त पूर्वाधारमा गम्भीर समस्या आउँदा त्यसको प्रभाव एकैपटक ठूलो संख्याका ब्रोकरमा परेको देखिन्छ । फलतः लगानीकर्ताले प्रयोग गर्ने टिएमएस मात्र होइन, त्यससँग जोडिएका अन्य प्रणालीको सञ्चालन पनि प्रभावित हुने अवस्था बनेको छ ।

वाइकोको पत्रले समेत डेटाहब र नेप्सेबीचको नेटवर्क कनेक्टिभिटीका कारण घटनाले साइवर सुरक्षा, संचालनगत र डेटा इन्टिग्रीटी जोखिम निम्त्याउन सक्ने उल्लेख गरेको छ। सेयर बजारमा कारोबार रोकिँदा लगानीकर्ताले कारोबार गर्न नपाउनु तत्काल देखिने समस्या हो। तर यस घटनाले अर्को महत्वपूर्ण प्रश्न उठाएको छ—मुख्य कारोबार पूर्वाधार असफल हुँदा वैकल्पिक प्रणाली कति तयार छ ?

सामान्य प्राविधिक समस्या र साइबर आक्रमणको जोखिम फरक हुन्छ । प्राविधिक समस्या हुँदा प्रणाली पुनः सुरु गर्न सकिने भए पनि र्यान्समवेयरको घटनामा प्रभावित प्रणालीलाई थप क्षति रोक्न अलग्याउनुपर्ने हुन सक्छ । त्यसैले ब्याकअप, डिजास्टर रिकभरी, वैकल्पिक डाटा सेन्टर, नेटवर्क र साइबर सुरक्षा परीक्षण बजारको निरन्तरताका लागि महत्वपूर्ण हुन्छन्।

सोमबारको घटना आउनुअघि नै नेप्सेको प्रणालीमा पटक–पटक प्राविधिक समस्या देखिँदै आएको थियो। पछिल्लो घटनाले भने बजारको प्राविधिक पूर्वाधारलाई केवल कारोबार सञ्चालन गर्ने प्रणालीका रूपमा होइन, जोखिम सहन सक्ने ‘रेजिलियन्ट’ पूर्वाधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता थप स्पष्ट पारेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?