वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेफ्स्कून छोड्न ७१ कर्मचारीको आवेदन, लक्ष्यभन्दा झन्डै दोब्बर

नेफ्स्कून छोड्न ७१ कर्मचारीको आवेदन, लक्ष्यभन्दा झन्डै दोब्बर
अर्थटुडे
२०८३ आश्विन ७, बुधबार

काठमाडौं । वित्तीय कारोबारबाट बाहिरिने तयारीमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा स्वेच्छिक अवकाश लिन कर्मचारीको आकर्षण देखिएको छ । नेफ्स्कूनले सार्वजनिक गरेको स्वेच्छिक अवकाश योजनामा ७१ जना कर्मचारीले आवेदन दिएका छन्, जुन संघले तय गरेको कर्मचारी कटौतीको लक्ष्यभन्दा झन्डै दोब्बर हो ।

नेफ्स्कूनले गत भदौ १७ गते आफ्नो आन्तरिक योजनाअनुसार सबै तहका कर्मचारीलाई लक्षित गर्दै स्वेच्छिक अवकाश योजनासम्बन्धी सूचना जारी गरेको थियो । जसमा ७१ कर्मचारीले स्वेच्छिक अवकाशका लागि आवेदन दिएको जनाएको छ । आवेदन दिनेमा कार्यक्रम अधिकृत, वरिष्ठ अधिकृत, अधिकृत, व्यवसाय अधिकृत, वरिष्ठ सहायक, व्यवसाय सहायक, कार्यालय सहायकलगायत विभिन्न तहका कर्मचारी छन् ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले संघले वित्तीय कारोबारमा संलग्न कर्मचारीलाई लक्षित गर्दै स्वेच्छिक अवकाश योजना अघि बढाएको र करिब ४० कर्मचारी कटौती गर्ने लक्ष्य रहेको बताउँछन् । हाल १६९ कर्मचारी रहेकोमा संख्या घटाएर करिब १३० मा झार्ने योजना संघको छ ।

तर, ४० कर्मचारी कटौती गर्ने लक्ष्य राखिएको अवस्थामा ७१ जनाको आवेदन पर्नुले नेफ्स्कूनको पुनर्संरचना प्रक्रियामा कर्मचारीतर्फबाट अपेक्षाभन्दा ठूलो प्रतिक्रिया आएको देखिएको छ । आवेदन दिएका सबैलाई अनिवार्य रूपमा अवकाश दिइने वा कति जनाको आवेदन स्वीकृत हुने भन्ने विषय भने स्पष्ट देखिएको छ ।

स्वेच्छिक अवकाश योजनामा एक वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। आवेदन दिने कर्मचारीलाई सेवा गरेको प्रत्येक वर्षको एक महिनाको तलब बराबरको दरले अवकाश सुविधा÷उपदान दिने व्यवस्था रहेको नेफ्स्कूनले जनाएको छ।

सरकारले बचत तथा ऋण सहकारीका संघहरुको वित्तीय कारोबारमा रोक लगाएसँगै नेफ्स्कूनले सेवा केन्द्रको संख्या पनि घटाउने निर्णय गरिसकेको छ । सञ्चालनमा रहेका सेवा केन्द्रमध्ये थप आठवटा बन्द गरी संख्या १८ मा सीमित गर्ने योजना अघि बढाइएको छ ।

वित्तीय कारोबारसम्बन्धी भूमिका परिवर्तन हुने र संस्थाको संरचना संकुचित गर्ने प्रक्रियासँगै कर्मचारी संख्या तथा सेवा केन्द्र घटाउने रणनीति अघि सारिएको हो।

नेफ्स्कूनको पछिल्लो कदम सहकारी संघहरूले वित्तीय कारोबार गर्न नपाउने व्यवस्थापछि आएको हो। संघको वित्तीय कारोबारसम्बन्धी भूमिकामा परिवर्तन भएपछि कर्मचारी संरचना, सेवा केन्द्र र आगामी व्यावसायिक मोडलसमेत पुनरावलोकन गर्नुपर्ने अवस्था बनेको छ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?