वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फिनटेकको विकाससँगै भुक्तानीसम्बन्धी कानुन संशोधन अपरिहार्य : अर्थमन्त्री वाग्ले

फिनटेकको विकाससँगै भुक्तानीसम्बन्धी कानुन संशोधन अपरिहार्य : अर्थमन्त्री वाग्ले
अर्थटुडे
२०८३ आश्विन ७, बुधबार

काठमाडाै  । अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले द्रुत गतिमा विकास भइरहेको वित्तीय प्रविधि (फिनटेक) र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्बोधन गर्न ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ अपरिहार्य रहेको बताएका छन  ।
बुधवारको प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यो संशोधन अर्थतन्त्रको आधुनिकीकरण र औपचारिकीकरणका लागि महत्वपूर्ण कदम भएको स्पष्ट पारे । अर्थमन्त्री वाग्लेले डिजिटल प्रविधिमा भइरहेको तिब्र विकासका कारण विद्यमान कानुनले हालका चुनौतीहरूलाई ‘क्याचअप’ गर्न नसकेको स्वीकार गरे ।

उनले नयाँ विधेयकले भुक्तानी प्रणालीको दायरा फराकिलो बनाउँदै उपभोक्ताको डेटा सुरक्षा र प्रणालीगत जोखिम न्युनिकरणमा जोड दिएको बताए  ।
विधेयकको मुख्य विशेषताका रूपमा ‘रेगुलेटरी स्यान्डबक्स’को अवधारणा ल्याइएको छ । यसले नयाँ प्रकृतिका वित्तीय प्रविधिको परीक्षणका लागि नेपाल राष्ट्र बैंकलाई निश्चित सीमा र अवधि तोकी अनुमति दिने वैधानिक बाटो खोल्नेछ । साथै, विदेशी भुक्तानी सेवा प्रदायकहरूको प्रवेशलाई सहजीकरण गर्न १० भन्दा बढी मुलुकमा अनुभव प्राप्त संस्थाहरूका लागि स्थलगत निरीक्षणको बाध्यता हटाउने र प्रक्रिया छरितो बनाउने प्रावधान राखिएको छ ।
उपभोक्ता संरक्षणलाई प्राथमिकतामा राख्दै मन्त्री वाग्लेले संस्थाको अनुमति खारेज वा नवीकरण नभएमा ग्राहकको वालेटमा रहेको इ–मनी ३० दिनभित्र फिर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको जानकारी दिए । त्यस्तै, सबै भुक्तानी उपकरण र संस्थालाई ‘नेशनल पेमेन्ट स्विच’मा आवद्ध हुनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।

विवाद निरुपणका लागि डेपुटी गभर्नरको अध्यक्षतामा पाँच सदस्यीय अधिकार सम्पन्न समिति गठन गरिनेछ भने ऐन विपरीतका कसूरहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिताको अनुसूचीमा समावेश गरी सरकारवादी मुद्दा बनाइने मन्त्री वाग्लेले बताए । मन्त्री वाग्लेले सांसदहरूबाट आएका राय र सुझावहरूलाई समितिमा थप छलफल गरी विधेयकलाई थप परिस्कृत गरिने प्रतिवद्धता जनाए  । –न्युज एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?