काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब ६ वर्षपछि १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकारमा रङ तथा सुरक्षण विशेषतामा परिवर्तन गर्दै ‘सिरिज २०२५’ को १ हजार रुपैयाँको नोट बिहीबारदेखि बजारमा ल्याएको हो।
नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र र लालीगुराँसको पानीछाप राखिएको छ। पानीछापको मुनि ‘१०००’ अंकसमेत राखिएको छ। नोटको पृष्ठभागमा चितवनका दुर्लभ मानिएका जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। साथै सातवटा लालीगुराँस र हनुमानढोकाको ऐतिहासिक थामको आकृति पनि समावेश गरिएको छ।
नोटमा नक्कली नोट नियन्त्रण तथा दृष्टिविहीन व्यक्तिले सहजै पहिचान गर्न सक्ने गरी विभिन्न सुरक्षण विशेषता थप गरिएको छ। अगाडिको भागमा ‘१०००’ को केही अंश देखिने ‘सी थ्रु रजिस्टर’ राखिएको छ, जसलाई प्रकाशतर्फ हेर्दा पूर्ण अंक देखिन्छ।
त्यस्तै, दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सकून् भनेर ‘ः’ आकारको संकेत तथा तेर्सा रेखाहरू राखिएका छन्। नोटमा ३.५ मिलिमिटर चौडाइको चलायमान सुरक्षण धागो प्रयोग गरिएको छ, जुन सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। उक्त धागोमा ‘एनआरबी’ र ‘१०००’ अंकित छ।
नोटको अग्रभागमा रहेको विशेष चित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने गरी तयार गरिएको छ। नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। यसको सिरिज नम्बर ९२०००००१ बाट ५०९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया